कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ : प्रवक्ता डा महत

काठमाडौँ, ८ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताउनुभएको छ । नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधँै मजदुरको पक्षमा उभिने बताउनुभएको हो ।

“कांग्रेसले सधैँ मजदुरको पक्षमा काम गर्छ, अरु दल मजदुरको पक्षमा बोल्छन् काम गर्दैनन्, कांग्रेस सधँै मजदुरको पक्षमा छ, काम गर्छ”, उहाँले भन्नुभयो । प्रवक्ता डा महतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मजदुर क्षेत्रको समस्या समाधानका लागि कांग्रेसले काम गर्ने बताउनुभयो ।

मजदुरको पक्षमा कांग्रेस सधँै अगाडि बढ्ने उहाँको भनाइ थियो । नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने ऐन, कानुन निर्माणका लागि प्रदेश सरकारसँग कांग्रेसले सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन मजदुरको समस्या समाधान गर्न बागमती प्रदेशले भूमिका खेल्ने उहाँको भनाइ छ ।

नेपाल यातायात मजदुर सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । “नेपाल ट्रेड युनियन कांग्रेसले अगाडि सारेको अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले पहल थाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पार्टी र सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । विसं २०६६ मा स्थापना भएको नेपाल पर्यटन श्रमिक सङ्घमा हाल देशभर एक हजार ४०० पदयात्रा, आरोहण, जलयात्रा, ‘टुर’, जङ्गल सफारी गाईड लगायत आवद्ध रहेको सङ्घका अध्यक्ष कपिल पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्