निलकण्ठ बहुमुखी क्याम्पसमा ने.वि संघद्धारा र्याली सहित संगठन दर्ता

धादिङ,१९ फागनु ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निलकण्ठ बहुमुखी क्याम्पसले आज विद्यार्थी सङ्गठन दर्ता गरेको छ । क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै आज विहान ७ बजे ने.वि संघले र्याली सहित संगठन दर्ता गरेको हो ।

नेपाली कांग्रेसको पाटी कार्यालय देखि निलकण्ठ बहुमुखी क्याम्पससम्म र्याली निकालेर संगठन दर्ता गरेको हो । ने.वि संघ संगै अखिल कान्तिकारी, अनेरास्ववियुले पनि संगठन दर्ता गरेका छन् ।

कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बेलुका ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २९ गते दिउसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

क्याम्पसले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको र त्यस पछि भने मौन अवधी शुरु हुन भएकोे छ ।

निलकण्ठ बहुमुखी क्याम्पसमा मतदान चैत्र ५ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएको छ ।
त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्