क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।  बिहिबार त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियमअनुसार यूएईमाथि ९ रनकाे जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो ।

नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । यूएईमाथि जित निकाल्न नेपालका चार ब्याटरले अर्धशतकिय पारी खेले । 

ओपनर कुशल भुर्तेलले ३५ बलमा ३ चौका र ४ छक्काको मद्धतमा ५० रनको आक्रामक अर्धशतक बनाए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । मध्यक्रमका ब्याटर भीम सार्कीले पनि अर्धशतकिय पारी खेले । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए । 

यसैगरी आरिफ शेखले पनि अर्धशतक बनाए । उनले ६२ बलमा २ चौकासहित ५२ रन बनाएर आउट भए । र, बलर गुल्सान झाले आक्रामक अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५० रन बनाए । यस्तै, ओपनर आसिफ शेख शून्य रनमै आउट हुँदा कुशल मल्लले ५ रन, कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले १० रन बनाए । 

यूएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा आयान अफजल खानले दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङ थालेको  यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे । 

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो । 

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। नेपालले ३६ खेलमा १९ जित र १५ हारसहित ४० अंक जोडेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्