शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बैठकमा नेकपा एमालेका देवेन्द्र दाहालले नक्कली भूटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । झापाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा केही दिनअघि पार्टी अध्यक्षको टोलीलाई लक्षित गरी भएको ढुङ्गामुढाको प्रयासका घटनाको छानबिन नभएकोमा आलोचना गर्दै उहाँले प्रतिपक्ष विरुद्धमा सरकार खनिएको आरोप लगाउनुभयो ।

आर्थिक सङ्कटले मुलुकमा भयावह स्थिति सिर्जना हुन सक्ने भएकाले समयमै सजग र रहन सुझाव दिँदै उहाँले मुलुकमा खोजी भएको वैकल्पिक शक्तिले जनताका आकाक्षालाई पूरा गर्न नसक्ने ठोकुवा गर्नुभयो । विपक्षलाई साथमा लिएर जाने भनेको प्रजातन्त्रको सुन्दर पक्ष भएको बताउँदै सदस्य दाहालले अर्थतन्त्र र देशको समग्र समस्या सम्बोधन गर्न प्रतिपक्षसँग बस्ने वातावरण नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “विधेयक अधिवेशन भए पनि अघिल्लो अधिवेशन त्यतिकै खेरा गयो, कुनै विधेयक पास हुन सकेन । सरकार गठन र फेर बदलमै बित्यो । देशमा गठबन्धनले विकृति ल्यायो । एमाले विरुद्ध गरिएको गठबन्धनले देशलाई अनिर्णय बन्दी बनाइएको छ ।” देशको बिग्रदो अर्थतन्त्रलाई सम्बोधन गर्ने खाका ल्याउन वर्तमान सरकारको ल्याकत नरहेको आरोप लगाउँदै नेता दाहालले भन्नुभयो, “जनताको पनि उत्पादनमा भन्दा उपभोगमा मात्र ध्यान गएको छ । सरकार पनि उद्योगधन्दा र रोजगारी सिर्जना गर्नमा सरकार उदासिन छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्