गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौँ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी गरिरहनुभएको जानकारी दिनुभएको छ । मुख्यमन्त्री उहाँले सबै मन्त्रालयहरुलाई सिलिङ उपलब्ध गराउँदै नीति कार्यक्रमसँगै बजेटको तयारी पनि सुरु गरिसकेको बताउनुभयो ।

आम नागरिकले महसुस गर्न पाउने नीति तथा कार्यक्रमको तयारी गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “हामी परिणाम देखिने र आम नागरिकलाई छुने गरी नीति कार्यक्रम ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “प्राप्त सुझावहरुका आधारमा हामी अघि बढ्नेछौँ ।” नीति तथा कार्यक्रमको तयारीका लागि पनि सबै दलहरुसँग छलफल र सुझाव सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । व्यक्तिभन्दा पनि समूह र गाउँ नै समृद्ध बनाउने अभियान प्रदेश सरकारले लिएको उहाँको भनाइ छ ।

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव सङ्कलन गरिसकेको र उहाँहरुको सुझावलाई नीति तथा कार्यक्रममा समेटिने उहाँले जनाउनुभयो । उहाँले नीति तथा कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विशेष कार्यक्रम तथा परिणाममुखी नीति कार्यक्रम ल्याउन सुझाव लिइएको समेत जनाउनुभयो ।

बजेट बनाउन सुरु

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणको काम सुरु गरेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ मन्त्रालयहरुमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको हो ।

मन्त्रालयहरुले गत आर्थिक वर्षमा प्राप्त गरेको बजेटको सिलिङभन्दा १० प्रतिशत कम बजेटको सिलिङ प्राप्त गरेका छन् । प्रदेशको ११ वटा मन्त्रालयहरुले पनि आफ्ना मातहतका कार्यालयहरुमार्फत बजेट बनाउने काम सुरु गरेका छन् ।

प्रदेशका पाँचवटा मन्त्रालयमा मन्त्री नभए पनि बजेट र नीति तथा कार्यक्रमहरु भने तयार गर्न थालिएको छ । प्रदेशका सबै मन्त्रालयहरुमा बजेटको सिलिङ पठाइसकिएको र बजेट बनाउने काम सुरु गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बताउनुभयो । एघार मन्त्रालयलाई सिलिङ बजेट तोकेर योजना माग गरिसकेको उहाँको भनाइ थियो ।

प्रदेशका ६ मन्त्रालयमा मात्रै मन्त्री छन् । बाँकी पाँचवटा मन्त्रालय भने मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । मन्त्री नभएका मन्त्रालयमा पनि बजेटको तयारी भइरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको तयारी अगाडि बढाएको हो । बागमती प्रदेश सरकारले चालु आवका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । सरकारले चालु आवको नौ महिनामा पूँजीगत खर्च १७ दशमलव ३६ प्रतिशत गर्न सकेको छ ।रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्