बिनोद थापा मगरको हत्यारालाई कारबाहीको माग गर्दै धादिङबेशीमा प्रदर्शनी

धादिङ,१४ जेठ ।

धादिङको गल्छि गाउँपालिका–८ का विनोद थापा मगरको हत्यामा संलग्न तीनै जनालाई आजिवन जेल सजायको माग राख्दै आफन्त र स्थानीयहरुले धादिङबेशीमा प्रदर्शन गरेका छन् । हत्यामा संलग्न भएको आरोपमा गल्छिकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी– ८ बस्दै आएका किरण रानालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै स्थानीयले धादिङबेशीमा रहेको न्यायिक निकाय आसपासमा प्रदर्शन गरेका हुन् ।

थापाको हत्यामा संलग्न तीनै जनामाथि अनुसन्धान जारी छ । अनुसन्धानको क्रममा पिडकहरुले प्रहरी प्रशासन र अदालत समेत आफ्नो पक्षमा पार्न सक्छन् । त्यहि आशंका उब्जनी भएकोले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाइएको गल्छि गाउँपालिकाका– ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगरले बताए । शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी बैशाख २८ गते राति विभत्स हत्या भएको थियो ।

पिडितका आफन्तहरुले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल संचालक पण्डित, उनका छोरा निरज माथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा पनि मुद्धा दर्ता गराएका छन् । नेपाल मगर संघको अगुवाइमा ध्यानाकर्षण तथा दबाब कार्यक्रम गरिएको हो । हत्यामा संलग्न तीनै जनालाई आजिवन जेल सजायको माग राख्दै प्रदर्शन गरी ज्ञापन पत्र बुझाएका हुन् ।

पिडितहरुको ज्ञापन पत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफुले नजिकबाट बुझिरहेको बताउदै घटनामा संलग्नहरुलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कार्वाही हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्