विश्व रक्तदाता दिवसको अवसरमा धादिङबेशीका ६६ जनाले गरे रक्तदान

आज विश्व रक्तदाता दिवस धादिङ सहित देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइएको छ । नाराले जीवन पर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमित रूपमा रगत र प्लाज्माको दान मार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ ।

यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ।
विश्व रक्तदाता दिवसकै अवसरमा धादिङबेशीका ६६ जनाले रक्तदान गरेका छन् । बुधबार निलकण्ठ बहुमुखी क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा ४९ पुरुष १७ जना महिला गरि ६६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

निलकण्ठ बहुमुखी क्याम्पस, युवा रेडक्रस सर्कलको आयोजनामा भएको रक्तदान कार्यक्रममा श्री रिलायबल फुड एण्ड वेभराज प्रा.ली नेपालको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्