धादिङका थप ३८ जनामा डेंगु संक्रमण, नीलकण्ठका मात्रै ३५ जना

धादिङ,
आज मंगलबार पनि धादिङका ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ३५ जना, ज्वालामुखी गाउँपालिकाका २ जना र खनियाबास गाउँपालिकाका १ जना गरी ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमति मध्ये २२ जना पुरुष र १६ जना महिला रहेका छन् ।

साउन १ गते देखि जिल्लामा संक्रमित हुनेको संख्या २३५ पुगेको छ। जसमा १३० जना पुरुष र १०५ जना महिला रहेका छन्। कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै २२१ जना रहेका छन् ।

त्यसैगरी जिल्लाको ज्वालामुखी गाउँपालिकामा ५ जना, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिकामा २÷२ जना, बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, गंगाजमुना, खनियाबास र रुवी भ्याली गाउँपालिकामा १÷१ जना संक्रमित भएकास छन्।

धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ ।
जिल्ला अस्पताल धादिङले अस्पतालका बेड, डेंगुका बिरामीले भरिएको जनाएको छ । पछिल्लो केहि दिन यता डेंगुको बिरामीको चाप बढ्दा अस्पतालका बेडहरु भरिएको अस्पतालले जनाएको हो ।

साउन महिनासँगै भदौ र असोजमा डेङ्गुको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान रहेको छ । डेङगु लामखुट्टेबाट सर्ने रोग हो । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्छ।

लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्