विपत्तिमा उद्धारका लागि स्वयंसेवक परिचालन

मनहरी (मकवानपुर), ३२ साउन ।

बाढी, पहिरो तथा चट्याङ लगायत प्राकृतिक विपद्का समयमा उद्धारका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले एक सय स्वयंसेवक परिचालन गरेको छ । वर्षाको समयमा आइपर्ने सम्भावित विपद्का समयमा पालिकाभित्र जोखिममा परेकालाई समयमा नै राहत तथा उद्धारका लागि एक सय स्वयंसेवक परिचालन गरिएको जनाइएको छ ।

सम्भावित जोखिम न्यून गर्ने उद्देश्यले राहत तथा उद्धारको पूर्ण तयारी गरी प्रत्येक वडामा स्वयंसेवक परिचालन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार तत्काल उद्धारका लागि प्रत्येक वडामा पाँचदेखि १० जनाका दरले एक सय स्वयंसेवकलाई प्रशिक्षण दिएर परिचालन गरिएको हो ।

“विपद्जन्य घटना नहोस् भन्ने कुरामा हामी सचेत छौँ । बाढी, पहिराको जोखिम भएका क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सुरक्षा अपनाउन सूचीत गरेका छौँ”, अध्यक्ष मल्लले भन्नुभयो, “सम्भावित विपद् आएको अवस्थामा समयमा नै उद्धारका लागि पालिकाले आवश्यक सामग्री खरिद गरी प्रत्येक वडामा स्वयंसेवक परिचालन गरेको छ ।” उहाँका अनुसार विपद्को घटना भएमा वा जोखिममा परेमा सम्पर्क तथा समन्वयका लागि गाउँपालिकामा ‘विपद् शाखा’ स्थापना गरिएको छ ।

सम्भावित विपद्का घटना भइहाले उद्धारपछि राहतका लागि खाद्यान्न, लत्ताकपडा, पाइप, भाँडाकुँडा, त्रिपाललगायत सामग्री तयारी अवस्थामा राखिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उद्धारका लागि स्वयंसेवकका साथै स्थानीय प्रहरी तथा रेडक्रससँग पनि समन्वय गरी काम थालिएको उहाँको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्