धादिङका थप ११ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ,०८भाद्र
धादिङमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । आज धादिङका थप ११ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

शुक्रबार गजुरी गाउँपालिकाका ४ जना, नीलकण्ठ र सिद्धलेकका ३÷३ जना र बेनीघाट रोराङ गाउँपालिकाका १ जना गरी ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

साउन यता धादिङमा स्क्रब टाइफसका ७४ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

के हो ‘स्क्रब टाइफस’?
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ। तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनुपर्छ। शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्नेमा विज्ञले जोड दिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्