एसिया कप क्रिकेट :  नेपालले टस हार्‍यो

काठमाडौँ, १८ भदौ 

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ । नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा छिमेकी टोली भारतसँग खेल्न २७ वर्ष कुनुप¥यो। सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहे पनि विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ‘ए’ को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान दुई खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो ।

भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दिप लामिछाने र ललितनारायण राजवंशी छन् ।

त्यस्तै भारतको प्लेइङ ११ मा कप्तान रोहित शर्मासहित शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, हार्दिक पान्ड्या, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्