लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीनको महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।

मरेका पशुअनुसार किसानलाई कम्तीमा ५ हजारदेखि २० हजार रूपैयाँसम्म राहत दिने गरी मापदण्ड बनाइएको र मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डाक्टर वेदुराम भुसालले जानकारी दिनुभयो।

मापदण्डमा विवरण सङ्कलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ । कृषि मन्त्रालयका अनुसार किसानलाई दिने राहत पनि तीन प्रकारकै प्रस्ताव गरिएको छ ।

किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा २० हजार, स्थानीय जातको ठूला गाई भैंसी, गोरू र राँगालाई १५ हजार र मृतक बाच्छा/बाच्छीलाई ५ हजार रुपैयाँका दरले राहत प्रस्ताव गरिएको छ ।

मन्त्रालयकाअनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेको तथ्याङ्क छ । तर, अहिलेको तथ्याङ्कमा कति वयस्क, कति रैथाने र कति बाच्छा बाच्छी मरे भन्ने एकिन विवरण भने सङ्कलन भइनसकेको सरकारले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्