हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार केसी र सिलवाललाई

यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८० द्वारा नेपाल टेलिभिजन धादिङमा कार्यरत शिव सिलवाल र कान्तिपुर टेलिभिजनमा रूकुम पूर्वका महेश केसीलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८०’ वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले राजनीति र पत्रकारिता दुवै जोखिमपूर्ण यात्रा भएको र टिकिरहन असहज परिस्थिति रहेको बताउनुभयो । मन्त्री शर्माले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै जोखिम मोलेर काम गर्दा धेरै चुनौती हुने र त्यस्लाई सूचना प्रविधिसँग जोडन कठिनाइ भएको बताउनुभयो ।

उहाँले सरकारी मिडिया जनताको आवाज बन्नुपर्ने भन्दै पत्रकारिता क्षेत्रमा टिकिरहनका लागि सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाइरहेको जानकारी दिनुभयो । मन्त्री शर्माले नेपाल टेलिभिजनलाई प्रतिस्पर्धी र उत्कृष्ट बनाउन जरुरी भएको भन्दै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल टिलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले नेपाली पत्रकारितामा हुने जोखिमलाई अवसरका रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले पेशागत जोखिम र प्रविधिगत जोखिम बढ्दै गएको र सोहीअनुसार नेपाल टेलिभिजनलाई पनि अघि बढाउन प्रयत्नमा रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सुरक्षित पत्रकारिता गर्नका लागि आवश्यक कानुन र संयन्त्र बन्न आवश्यक रहेको भनाइ राख्नुभयो । सम्मानित हुने रूकुम पूर्वका पत्रकार केसीले दुर्गममा पत्रकारिता गर्नका लागि सूचना प्रविधिको पहुँचमा समस्या भएको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै पुरस्कारले काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।

पुरस्कार छनोट समितिका सदस्य दिलभूषण पाठकले २० पत्रकारका सामाग्री आएको र त्यसमध्ये उत्कृष्टलाई छानेको जानकारी दिनुभयो । पत्रकार हेम भण्डारी र क्यामेरा पर्सन सुनील सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियोे ।

उहाँहरूको सम्झना नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो । उक्त पुरस्कारको राशी यस वर्षदेखि रू एक लाख कायम भएको छ ।

नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोपाल दाहाल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्माले पुरस्कृत व्यक्तित्वलाई बधाई दिनुभएको थियोे । कार्यक्रममा टेलिभिजन शाखाका पूर्वअध्यक्षहरू रामेश्वर शुक्ला, प्रदीप चापागाईं, शालिक सुवेदी र पुरूषोतम घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालले उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको र उक्त कोषमा हाल रू २० लाख रहेको जानकारी दिँदै पुरस्कृतलाई बधाई दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्