विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान

काठमाडौँ, १७ असोज ।

काठमाडौँ सेन्टर फर रिर्सच एन्ड एजुकेसन (केसिआरई) ले चाइनिज एकेडमी अफ साइन्सेसको सहयोगमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा सम्बन्धित क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका १३ उत्कृष्ट विद्यार्थीलाई शैक्षिक अनुदान पुरस्कार दिएको छ ।

वार्षिक रुपमा उपलब्ध हुने उक्त शैक्षिक अनुदानको राशि जनही रु ८० हजार रहेको छ । त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडमी अफ साइन्सेसबीच सन् २०१४ मा सहमति भई उक्त राशिको अनुदान केन्द्रीय विभागलगायत क्याम्पसमा अध्ययन गर्ने त्रिविका विद्यार्थीले प्राप्त गरिरहेका छन् । हालसम्म एक सय ३० विद्यार्थीले सो अनुदान पुरस्कार प्राप्त गरिसकेका छन् ।

कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले उत्कृष्ट शोधार्थी विद्यार्थीलाई सो अनुदान प्रदान गर्दै विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राडा विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिक निर्माण गर्ने संस्था रहेको र नेपालमा विज्ञान शिक्षाको विकास तथा गुणस्तरका लागि सहयोग गर्दै आइरहेको बताउनुभयो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्राडा दीपक अर्यालले आर्थिक प्रोत्साहनका अन्य स्रोतमार्फत विद्यार्थीलाई अनुसन्धानमा उत्पे्ररित गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्