नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

काठमाडौँ, २५ असोज ।

उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो ।

नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने ओपनर दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र ४ छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र २ छक्का हानेका हुन् । पाँचाँै नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए ।

देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुभास भण्डारी १८ रन जोडे । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोएसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्