तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

काठमाडौँ, २९ असोज ।
नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापना देखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन् ।

ट्राफिकले अघिल्लो  दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताउनुभयो ।

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताउनुभयो । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समय समेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,”  उहाँले भन्नुभयो ।

दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिनुभयो । सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ  । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको भनाइ छ । 
फाइल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्