‘अञ्जिला’ छायाङ्कनमा

काठमाडौँ, १९ कात्तिक ।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ। गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो ।

“प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ, मैले दोस्रो बायोपिक निर्देशन गरेको हुँ”, निर्देशक चाम्सले भन्नुभयो, “अञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहेता पनि प्रस्तुतीकरण फिल्मी शैलीमै छ ।”

नेपालमा जीवनीबाट प्रभावित बायोपिक चलचित्र बन्ने क्रमले केही समययता निरन्तरता पाएको छ । भारतसँगै हलिउडमा त्यस्ता चलचित्र धेरै नै बन्ने गरेको पाइएता पनि नेपालमा भने त्यो सङ्ख्या न्यून छ ।

व्यापारिक रूपमा त्यस्ता चलचित्र असफल हुँदा निर्माताले आँट गर्न सकेका छैनन् । दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गर्नुभएका निर्देशक चाम्सले पुनः अर्को चलचित्र तयार गरिरहनुभएको छ ।

उहाँले यसअगाडि गोर्खालीको वीरताको कथामा ‘गोर्खा वारियर’ निर्देशन गर्नुभएको थियो । इलाम, झापा र काठमाडौँमा छायाङ्कन हुने चलचित्रमा खेलाडी सुब्बा स्वयंले आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ । यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतले पनि अभिनय गरिरहनुभएको छ ।

चलचित्रमा यम थापाको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायाङ्कन निर्देशन रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्