व्यावहारिक सीपका लागि विद्यालयमा फूल खेती

धादिङ,२० कात्तिक ।

धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका विद्यार्थीहरुले सयपत्री र मखमली फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा शिक्षक र विद्यार्थीहरुले फूल खेती गरेका हुन् ।

गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत आठदेखि दश कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले तिहारलाई लक्षित गरेर फूल खेती गरिएको हो ।

विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफु सिकेर अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको विद्यालयका प्रधानाध्यापक शिवलाल श्रेष्ठले बताउनुभयो ।

अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिलले पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ ।

शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन रहेका छन् । “फूल खेती आम्दानीको श्रोत मात्रै नभइ, व्यवहारिक र सैदान्तिक ज्ञान प्राप्तिको अवसर पनि भएको त्यहाँ शिक्षक तथा विद्यार्थीहरु बताउँछन् । कक्षाकोठाको पढाई सँगसँगै फूलखेतीमा रमाइरहेकी विद्यार्थी अस्मिता कुमाल भन्छिन्, “फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौँ ।”

दसैँ–तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनि यो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा संचालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठ बताउनुभयो । यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको उहाँको भनाई छ ।

“विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेतीलाइ समावेश गरिएको थियो । त्यसैअनुसार वडा कार्यलयले दुइ लाख बजेट पनि छुट्याइदिए पछि अझ हौसला बढेको श्रेष्ठले बताउनुभयो । फूल खेतीले यो वर्ष रु तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएको बताउनुभयो।

फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पु¥याएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको उहाँले बताउनुभयो ।

पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाँझो हुँदै गएको जमिनलाई अम्दानीसँग जोड्न र युवालाई स्वदेशमै आयआर्जनमा लाग्न प्रेरितसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्