आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, २१ कात्तिक
आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नु भएको छ ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र मुख्यसचिव डा बैकुण्ठ अर्याल समेत उपस्थित हुनुहुन्थ्यो । यसैगरी आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य,आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल,आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो ।

आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्