समयमै भुक्तानी नहुँदा अस्पताल निर्माणमा समस्या

ढोरपाटन (बागलुङ), ६ मङ्सिर ।

बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ । यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ । अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ ।

कामदार लगाउँदा र निर्माण सामग्री खरिद गर्दा करोडौँ खर्च भइसकेको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । भदौमै नगरपालिकालाई रू छ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न समस्या भइरहेको उहाँको भनाइ थियो ।

विसं २०८२ असार २३ सम्ममा सकि सक्नुपर्ने अस्पतालको निर्माण करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको अदैले गुनासो गर्नुभयो । उहाँका अनुसार अस्पातल निर्माणका लागि रू १२ करोड ९६ लाखमा सम्झौता भएको थियो । काम गर्नुभन्दा पहिले सुरुमा पेस्की स्वरुप रू दुई करोड ४६ लाख लिएको बताउँदै उहाँले भौगोलिक हिसाबले ढोरपाटन टाढा हुनुका साथै सडक साँघुरो हुँदा ढुवानीमा बढी खर्च भएको जानकारी दिनुभयो ।

अहिले काम निरन्तर भइरहेको भन्दै प्रमुख अदैले कामदारलाई पारिश्रमिक दिन समस्या भइरहेको बताउनुभयो । “भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिएँ । अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ । यो योजना केन्द्र सरकारको भएकाले माथिबाट बजेट नगरपालिकामा आउने र पालिकाले हामीलाई उपलब्ध गराउने हो । हामीले जानकारी गराएका छौँ तर भुक्तानी भएको छैन”, उहाँले भन्नुभयो, “अझै केही दिन भुक्तानी भएन भने काम रोकिने स्थिति आउँछ । अहिलेसम्म सरसापट गरेर काम गराइराखेका छौँ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्वास्थ्य मन्त्रालयबाट बजेट नआउँदा भुक्तानी गराउन नसकेको बताउनुभयो । निर्माण कम्पनीले बारम्बार रकम माग गरे पनि आफूले केन्द्रमा बजेट पठाउन आग्रह गरेको उहाँले बताउनुभयो ।

भुक्तानी छिट्टै व्यवस्थापन गर्ने गरी निर्माण कम्पनीलाई निरन्तर काम गर्न अनुरोध गरिएको उपप्रमुख कायतले बताउनुभयो । “भुक्ताननी नहुँदा काम गर्न समस्या भयो भनेर निर्माण कम्पनीले बारम्बार गुनासो गरिरहेको छ । अस्पातल निर्माणको भुक्तानी स्वास्थ्य मन्त्रालयबाट आउने हो तर अहिलेसम्म आएको छैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले यहाँबाट भुक्तानी गर्न मिल्दैन । मन्त्रालयबाट बजेट पठाउनका लागि हामीले आग्रह गरेका छौँ । आउने वित्तिकै उहाँहरुलाई भुक्तान गर्छौँ ।”

यसअघि यहाँ अहिलेसम्म कुनै पनि अस्पातल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर सेवा प्रवाह गरिरहेको छ । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटक बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा भएकाले पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको स्थानीय बताउँछन् ।

ढोरपाटन–६, ७, ८ र ९ मा करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ । रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्