थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

जानकी (बाँके), १५ मङ्सिर ।

मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एक सुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै हुनुहुन्थ्यो । 

कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गर्नुभएको छ । माटाका मूर्र्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लैजानुभयो । 

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उहाँले काम गर्दै आउनुभएको छ छ । मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताउनुभयो । पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी रू २५ हजार पाएको उहाँले बताउनुभयो । 

“अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ”, मित्थुले भन्नुभयो । उहाँका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ ।

यतिबेला उहाँले बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै हुनुहुन्छ । उहाँले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी ९अप्सरा०, थारुका राजा दगीशरण, भेंवाँ भीम, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहनुभएको छ ।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत रू २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उहाँले बताउनुभयो । 

मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्राहलयमा चित्र र मूर्ति बनाइरहनुभएको छ । थारु संस्कृति जागरणाकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उहाँको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्