चेपाङ समुदायलाई औषधि वितरण

मुग्लिन (चितवन), १४ पुस ।

चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।

“एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङ्गका प्रमुख कमला हमालले बताउनुभयो ।

“बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ”, उहाँले भन्नुभयो । गाउँमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो ।

निःशुल्करुपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना गाउँपालिकाका सदस्य शङ्खबहादुर चेपाङले बताउनुभयो । यहाँ चेपाङ समुदायका बालबालिका कुपोषणबाट ग्रस्त छन् । उनीहरु घाउ खटिराबाट समेत पीडित छन् । यहाँका स्थानीय उपचारका लागि सदरमुकाम भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्