इच्छाकामना गाउँपालिकामा बजारीकरण गर्न सुन्तला महोत्सव

मुग्लिन (चितवन), १६ पुस ।

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो। गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडे लगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो ।

महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ ।” गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ । बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको कक्ष महोत्सवमा राखिने अध्यक्ष गुरुले बताउनुभयो ।

महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिने छ । स्थानियले बनाएका परिकार पाहुनालाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरने छ ।

“इच्छाकामनामा उत्पादन भएका सुन्तला देशका विभिन्न बजारमा बिक्री गर्न सहज हुने विश्वासका साथ महोत्सव आयोजना गरेका हौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसबाट यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास छ ।”

गाउँपालिका कृषि विकास शाखाका अनुसार यहाँका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरी रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ । अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिनुभयो । यस वर्ष यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।

गत वर्ष कृषि ज्ञान केन्द्रले सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत पाँच हजार एक सय बिरुवा वितरण गरेको थियो । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्