तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

चितवन, १७ पुस ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो ।

यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर दिउँसोमा भत्काउने काम गरिँदै आएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार पुल बनाउनका लागि तुइन खोलाको आडमा रहेको ढिस्को भत्काउन थालिएको हो ।

करिब ६० मिटर अग्लो ढिस्को गत वर्ष भत्काएर ३५ मिटरमा झारिएको थियो । कडा चट्टान आएपछि काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उहाँले जानकारी दिनुभयो । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गएको दश दिनमा छ मिटर पहाडको चट्टान भत्काइएको छ ।

गत साल २२ टनको ब्रेकरमात्र प्रयोग गरिएको थियो । आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँको भनाइमा यही ढङ्गबाट काम भएमा अर्को थप दुई साता सडक रोकेर काम गर्दा सम्पन्न हुने अनुमान गरिएको छ ।

पहिलोपटकका लागि तीन साता सडक रोकेर काम गरिएको हो । थप दुई साता सडक रोकेर काम गरेपछि आकल झुकलबाहेक सडक रोक्न नपर्ने अनुमान आफूहरुले गरेको उहाँले बताउनुभयो । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उहाँले जानकारी दिनुभयो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदै छ। अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो ।

यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्