६ महिनामा साढे ३ लाख नेपाली बैदेशिक रोजगारीमा

गएको साउनदेखि पुससम्मका ६ महिनामा ३ लाख ४३ हजार ४ सय ५ जना नेपाली बैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगार विभागका अनुसार साउनमा ५५ हजार ५ सय ७५ जना र पुसमा ६५ हजार ८ सय १३ नेपालीले विदेशिएका छन् ।

पुसमा जारी श्रम स्वीकृति पोहोरको पुसको तुलनामा समेत धेरै हो । अघिल्लो वर्ष पुसमा ६५ हजार ४ सय ६४ नेपाली विदेशिएका थिए । पुसमा विदेशिनेमध्ये ६ हजार ८४ जना महिला रहेका छन् । यो महिना नयाँ श्रम स्वीकृतिमा ३४ हजार ४ सय १५ र पुनः श्रम स्वीकृतिमा ३१ हजार ३ सय ९८ विदेशिएका छन् ।

विदेशिएका नेपालीले प्रमुख श्रम गन्तव्य भने यूएई देखिएको छ । विभागका अनुसार ६ महिनामा ८४ हजार ८५५ नेपाली श्रम स्वीकृती लिएर यूएई पुगेका हुन् । मङ्सिरमा १८ हजार ४९३ र पुसमा १६ हजार ३८५ नागरिक यूएई पुगेका छन् । दोस्रोमा भने साउदी अरब रहेको छ ।

केही वर्ष अघिसम्म प्रमुख श्रम गन्तव्य रहेको मलेसिया जाने नेपालीको सङ्ख्या भने पुसमा घटेर ८ हजार ९१ मा झरेको छ । यस्तै युद्धग्रस्त देश इजरायल जान पनि साउनयता ३ सय १७ नेपालीले श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।

यस्तै रूस र युक्रेनबिचको युद्धका कारण ती दुवै देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाउनु अघि पुस महिनामा २ जना नेपालीले रुसका लागि श्रम स्वीकृति लिएको देखिएको छ । एक जनाले व्यक्तिगत श्रम स्वीकृति र एक जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्