कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ, ७ फागुन ।

ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।

परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिनुभयो । “पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय गरिने छ”, उहाँले भन्नुभयो ।

परीक्षार्थीहरु परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले जानकारी दिनुभयो ।

परीक्षामा मोबाइल फोन, स्मार्टवाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेको लगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ ।

सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्