धादिङ सहित देशभर वर्षा र हिमपातः नागरिकको जनजीवन प्रभावित,रुविभ्यालीका विद्यालय बन्द

धादिङ।धादिङ सहित देशका विभिन्न ठाउँमा वर्षा र हिमपात भएसँगै जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको प्रभावले आज बिहानदेखि नै देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने क्रम जारी रहेकाले जनजीवन प्रभावित बनेको हो ।

मंगलबार रातीदेखि धादिङको उत्तरी क्षेत्रका वस्तीमै हिमपात सुरु भएको स्थानीयले बताएका छन्। उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ लगाएतका माथिल्लो भेगमा हिउँ परेको छ। निरन्तरको वर्षा र हिमपातका कारण गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि विचल्ली भएको छ ।

स्थानीयहरुलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ भने पानीका कारण करेसा बारीमा लगाएर सागपात नष्ट भएको छ ।

बाक्लो हिमपात र प्रतिकुल मौसमका कारण रुविभ्याली गाउँपालिकाभित्रका विद्यालय बन्द गरिएको छ । प्रतिकुल मौसमका कारण गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन्। मौसम पूर्वानुमान महाशाखाले शुक्रवारपछि मात्रै मौसम सफा हुँदै जाने बताएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय धादिङले गएराति देखिको झरीका कारण जिल्लाको उत्तरी क्षेत्रमा हिमपात तथा दक्षिणी महाभारत लेक क्षेत्रमा अत्याधिक चिसो बढ्ने अवस्था रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै हिमपात तथा अत्याधिक चिसोबाट आर्थिक सामाजिक रुपले विपन्न र जोखिममा रहेका व्यक्ति तथा समुदायका मानिसहरुलाई उद्धार तथा संरक्षण गर्न आवश्यक पर्ने न्यानो कपडा, खाद्यन्न औषधि तथा नियमपुर्वक संकलित दाउराहरु लगायतका सामाग्रीहरुको व्यवस्थापन गरी प्रचलित कार्यविधि सम्मत ढंगबाट वितरण गर्न स्थानीय तह तथा सम्बद्ध सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ।

तस्बिर: समाया तामाङ/अनिसा तामाङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्