धादिङ, वैशाख ९ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ७ स्थित अचनेटारलाई गाउँपालिकाकै पहिलो नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ। गाउँपालिका र शान्ति नेपालको संयुक्त साझेदारीमा आयोजित एक विशेष कार्यक्रमका बीच यो घोषणा गरिएको हो।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देवराज धरेलको विशेष उपस्थितिमा उक्त घोषणा गरिएको हो। सरसफाई र स्वच्छताका निर्धारित सूचकहरू पूरा गरेपछि अचनेटारलाई गाउँपालिकाकै पहिलो नमुना गाउँको रूपमा पहिचान दिइएको हो।

नमुना गाउँ: सरसफाईका सूचक पूरा गरेसँगै अचनेटार गाउँपालिकाकै पहिलो स्वच्छ गाउँ घोषित।

७८ घरधुरीमा खानेपानीको पहुँच
सोही अवसरमा ७८ घरधुरीमा जडान गरिएको खानेपानी आयोजनाको समेत विधिवत उद्घाटन गरिएको छ। घरघरमा खानेपानीको सुविधा पुगेसँगै स्थानीय नागरिकहरूको दैनिकीमा सहजता आउने र सरसफाई अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।

पिप्ले दलित बस्तीको निरीक्षण
घोषणा कार्यक्रमको सिलसिलामा टोलीले वडा नं। ६ स्थित पिप्ले दलित बस्तीमा सञ्चालित खानेपानी तथा सरसफाई आयोजनाको समेत स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा आयोजनाको प्रभावकारिता र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल गरिएको थियो।

शान्ति नेपाल र गाउँपालिकाको यो सहकार्यले त्रिपुरासुन्दरीमा स्वच्छता र खानेपानीको क्षेत्रमा नयाँ आयाम थपेको स्थानीयले बताएका छन्।

