म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, २२ वैशाख
म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखराले पात्लेखेतको गहतेचोकदेखि राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको हो । विसं २०६६ मा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको हो । पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुन पुनले बताउनुभयो ।

“साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो”, उहाँले भन्नुभयो, “सडक ढलान भएपछि यात्राअवधि छोटिनुका साथै सहज भएको छ ।” यसअघि २० मिनेट लाग्ने यात्राअवधि पाँच मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

वाखेत–टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले रु दुई करोड ३६ लाख २३ हजार १५२ मा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघि नै सम्पन्न गरेको हो ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यअघिनै काम सम्पन्न गरेको बताउनुभयो । निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उहाँले बताउनुभयो ।

तीन दशमलब पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । सडक स्तरोन्नति भएपछि स्थानीयबासीका साथै टोड्के आवछजावात गर्ने पर्यटकलाई सहज भएको बेनी नगरपालिका–१० का वडासदस्य बेगम पाइजाले बताउनुभयो । राम्जाली चोकदेखि बराहथान हुँदै टोड्के जोड्ने बाँकी खण्डको सडक स्तरोन्नतिका लागि योजनाको निरन्तरता दिन वाखेतवासीले माग गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्