च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया (कैलाली), ३ असार
कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आउनुभएको छ ।

चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । एउटा टनेलबाट च्याउखेती सुरु गर्नुभएका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताउनुभयो ।

बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको बताउँदै चौधरीले आम्दानी पनि राम्रो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वार्षिक रु २० लाखबराबरको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुन्छ । यस वर्ष रु ३० लाखसम्मको च्याउ बिक्री गर्ने लक्ष्य छ ।”

पहिले ज्ञान र सीपको कमीले छ महिनामात्रै च्याउ उत्पादन गर्ने गरेकामा हाल उहाँले बाह्रै महिना च्याउ उत्पादन गर्दै आउनुभएको छ । चौधरीले उत्पादन गर्नुभएको कन्य च्याउ हाल बजारमा प्रतिकिलो रु २५० का दरले बिक्री हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “कन्य च्याउको उत्पादन बढी हुन्छ । यसको खपत पनि राम्रो छ । लागत पनि कम छ । त्यसैले कन्य च्याउ नै उत्पादन गर्ने गरेको छु ।” चौधरीले च्याउ फार्ममा दैनिक ज्यालादारीमा चार जनालाई रोजगारीसमेत दिएको र दैनिक प्रतिव्यक्ति रु ६०० देखि आठ ८०० सम्म ज्याला दिने गरेको बताउनुहुन्छ ।

लगानी कम र आम्दानी बढी भए पनि बजारको मागअनुसार च्याउ आपूर्ति गर्न कठिनाइ भइरहेको चौधरीजस्तै व्यावसायिक च्याउखेती गर्दै आएका किसान बताउँछन् । पछिल्लो समय बजारमा माग अध्यधिक रहेकाले च्याउखेतीको आम्दानीले सहजै जीविकोपार्जन हुने उहाँहरूको भनाइ छ ।

च्याउखेतीबाट भएको आम्दानीले सबै घर खर्च र छोराछोरीको पढाइलेखाइ खर्च सजिलै जुटेको उहाँहरू बताउनुहुन्छ । मिहिनेत गरे आफ्नै देशमा रोजगारी दिन र राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणी पात्रका रूपमा व्यावसायिक च्याउखेती गर्दै आउनुभएका चौधरी रहनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्