फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद

म्याग्दी, १२ असोज :

फाइबर चुुडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो ।

म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढीले पाँच सय मिटर फाइवर जोडेको चारवटा पोल बगाउँदा सञ्चार सेवा प्रभावित भएको बताउनुभयो ।

“टेलिकमले तानेको फाइवरमा अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि भाडामा लिएका हुुन्छन्”, उहाँले भन्नुभयो, “वैकल्पिक व्यवस्था गरेर अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गरे पनि इन्टरनेट सञ्चालनका लागि पोल गाड्ने र तार तान्ने अवस्था नभएकाले आइतबार दिनभर प्रयास गरे पनि सफल हुन सकेन ।”

कालीगण्डकी नदीले मालढुुङ्गामा मोटरेबल पुलको पहुँचमार्ग बगाएकाले प्राविधिक टोली सहश्रधारा पुगेर फाइवर तान्न र मर्मत गर्न नसकेको उहाँले बताउनुभयो । विपद्को समयमा सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान, उद्धार, राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारण, प्रशासनिक, सुरक्षा निकाय र जनप्रतिनिधिदेखि सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न समस्या भएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्