आलेखः बदलिँदै राजी समुदायको दिनचर्या

कैलाली, १६ असोजः “पहिले जङ्गलमा गएर काम गर्नुपथ्र्यो अनिमात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ । त्यसले खानलाउन र जीविकोपार्जन गर्न सहज भएको छ”, ७० वर्षीया झिना राजीले आफ्नो विगत सम्झँदै भन्नुभयो ।

जीवनको लामो समय जङ्गलसँग जोडिएर बिताउनुभएका झिना अहिले आफ्नो समुदायमा आएको परिवर्तन आफ्नै आँखाले देखिरहनुभएको छ । कुनै समय परिवारको गुजारा चलाउन जङ्गली पस्नुपर्ने अवस्था थियो । अहिले भने राज्यबाट सामाजिक सुरक्षा भत्ता, आवास, शिक्षा र स्वास्थ्यलगायत सेवासुविधा पाउन थालेपछि जीवनयापन सहज भएको उहाँ बताउनुहुन्छ ।

झिना राजीको पुस्ताले जङ्गलीसँग जोडिएको जीवन बाँच्यो भने नयाँ पुस्ता त्यही समुदायबाट विद्यालय, प्राविधिक शिक्षा, रोजगारी र सामाजिक नेतृत्वको बाटोमा अघि बढिरहेको छ । एक पुस्ताले जङ्गलबाट प्राप्त स्रोतमा निर्भर भएर परिवारको जीवन धानेको थियो भने अर्को पुस्ताले शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने अवस्था बनेको छ । कैलालीको भजनी, टीकापुर, गौरीगङ्गा, घोडाघोडीलगायतका क्षेत्रमा राजी समुदायको बसोबास छ । समुदायमा देखिएको यो परिवर्तन जीविकोपार्जनको शैलीमा आएको परिवर्तनमा मात्र सीमित छैन । शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, महिला सहभागिता, स्थानीय तहमा प्रतिनिधित्व र आफ्ना अधिकारबारेको चेतनासमेत विस्तार हुँदै गएको छ ।

नेपाल सरकारले आदिवासी जनजातिअन्तर्गत १० जातिलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ । तीमध्ये राजी जाति पनि एक हो । नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशितालाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै सामाजिक तथा सांस्कृतिक रूपमा पछाडि परेका, अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायको संरक्षण, सशक्तीकरण र विकासका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख गरेको छ ।

संविधानको धारा ४२ मा लोपोन्मुख जातिका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्यान्नमा विशेष अवसर तथा संरक्षणको हक सुनिश्चित गरिएको छ । त्यस्तै, धारा ५१ ले लोपोन्मुख समुदायको पहिचान, भाषा, लिपि, संस्कृति र इतिहासको संरक्षण तथा विकासका लागि विशेष अवसर र व्यवस्था गर्ने राज्यको नीति अघि सारेको छ । धारा २६१ ले आदिवासी जनजातिको हकहितको संरक्षण, संवद्र्धन र सशक्तीकरणका लागि आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ ।

संवैधानिक व्यवस्थासँगै सरकारले राजी समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा, छात्रवृत्ति, शिक्षा, आवासलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय तहले पनि समुदायको अवस्थाअनुसार कार्यक्रम अघि बढाएका छन् । भजनी नगरपालिकाले राजी जातिका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको नगरप्रमुख केबल चौधरी बताउनुहुन्छ । उहाँका अनुसार नगरपालिकाले निःशुल्क शिक्षासँगै राजी समुदायलाई लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
जङ्गलसँग जोडिएको जीवनबाट शिक्षातर्फ अघि बढेको पुस्ता राजी समुदायको परम्परागत जीविका जङ्गली, खेतीपाती र माछा मार्ने कामसँग गहिरोसँग जोडिएको थियो । जङ्गलबाट मह, जडीबुटी, कन्दमूल, कुरिलो, माछालगायत वस्तु सङ्कलन गर्ने, घरमा प्रयोग गर्ने र बाँकी बिक्री गरेर घरखर्च चलाउने गरिन्थ्यो । वनजन्य वस्तु सङ्कलन गर्न कतिपय अवस्थामा दिनसँगै रात भर जङ्गलीमै बस्नुपर्ने अवस्था थियो ।

भजनी नगरपालिका–९ भुरुवाका ३५ वर्षीय हर्षबहादुर राजीका लागि त्यो समय अझै सम्झनामा ताजा छ । उहाँका अनुसार पहिले परिवारका सबै सदस्य कुनै न कुनै रूपमा जङ्गलीसँग जोडिएका हुन्थे । “पहिले हाम्रो मुख्य जीविकोपार्जन खेतीपाती र जङ्गलीमै निर्भर थियो । म सानै थिएँ, बुवासँगै जङ्गली जाने गर्थें । जङ्गलीबाट मह, जडीबुटी तथा अन्य वनजन्य वस्तु ल्याएर खाने र बाँकी ठेकेदारलाई बिक्री गरेर घरखर्च चलाउने गथ्र्यौं”, उहाँले भन्नुभयो ।

आम्दानी सीमित भएकाले परिवारको दैनिक आवश्यकता पूरा गर्नसमेत कठिन हुने गरेको उहाँ बताउनुहुन्छ । त्यतिबेला शिक्षा धेरै परिवारको प्राथमिकतामा पर्न सकेको थिएन । आर्थिक अभावका कारण बालबालिकाले विद्यालय जानुभन्दा घरको काममा सहयोग गर्नुपर्ने अवस्था थियो । हर्षबहादुरले पनि पढाइलाई निरन्तरता दिन सक्नुभएन । बुवाको निधन भएपछि र जेठो दाई छुट्टिएर गएपछि परिवारको जिम्मेवारी उहाँकै काँधमा आयो । आफूले पढ्न नपाएका अवस्थालाई भने उहाँले भाइको जीवनमा दोहोरिन दिनुभएन । भाइहरूलाई पढाउनुपर्छ भन्ने सोचका साथ उहाँले आफ्नोतर्फबाट सकेको सहयोग गर्नुभयो ।

हर्षबहादुरका एक भाइ ३१ वर्षीय अरमान अहिले घोडाघोडी नगरपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ । अरमानको बाल्यकाल भने पढाइप्रति विशेष रुचि भएका अवस्थाबाट सुरु भएको थिएन । विद्यालय जाने उमेरमा उहाँलाई पढ्नुभन्दा गाईबाख्रा चराउन बढी रुचि लाग्थ्यो । “स्कुल पढ्दा हप्तामा एक दिन मात्र विद्यालय जाने गर्थें । विद्यालय जानुपर्छ भन्ने सोच नै थिएन, गाईबाख्रा चराउन नै राम्रो लाग्थ्यो”, उहाँले भन्नुभयो । पढाइप्रतिको त्यही सुरुआती उदासीनताका कारण उहाँको शैक्षिक यात्रा पनि सहज भएन । एसएलसीमा एकपटक असफल हुनुभयो । तर असफलतापछि पनि उहाँले पढाइ छाड्नुभएन । परिवारको साथ र आफ्नै प्रयासले माध्यमिक तहको शिक्षा पूरा गर्नुभयो ।

माध्यमिक शिक्षा पूरा गरेपछि उहाँको ध्यान प्राविधिक शिक्षातर्फ मोडियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रवेश परीक्षा उत्तीर्ण गरेपछि छात्रवृत्तिको अवसर पाउनुभयो । त्यसपछि चितवनमा डिप्लोमा तहको सब–इन्जिनियरिङ अध्ययन गर्नुभयो । “प्राविधिक शिक्षा के हो, डिप्लोमा तहको पढाइ कसरी गर्ने भन्ने सुरुमा मलाई पनि धेरै जानकारी थिएन । पछि भर्ना भएपछि बाटो खुल्दै गयो”, उहाँले भन्नुभयो ।

प्राविधिक शिक्षा पूरा गरेपछि अरमानले लोकसेवा आयोगको परीक्षा दिनुभयो । परीक्षा उत्तीर्ण गरेपछि २०७६ सालदेखि उहाँ घोडाघोडी नगरपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ । जङ्गलीमा परिवारको गुजारा चलाउने पुस्ताकै परिवारबाट शिक्षा हासिल गरी सरकारी सेवामा प्रवेश गर्नुभएको उहाँको यात्रा राजी समुदायमा आएको पुस्तान्तरणको एउटा उदाहरण बनेको छ । दाइ हर्षबहादुरको बाल्यकाल जङ्गलमा बित्यो । उहाँले पढाइलाई निरन्तरता दिन सक्नुभएन । तर भाइ अरमानले कठिनाइका बाबजुद पढाइलाई अघि बढाउँदै प्राविधिक शिक्षा हासिल गर्नुभयो र सरकारी सेवामा प्रवेश गर्नुभयो । हर्षबहादुरका अर्का भाइले पनि इलेक्ट्रिकल इन्जिनियरिङ पूरा गरी लोक सेवाको तयारी गरिरहनुभएको छ ।

आफ्नो सफलतालाई अरमान व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेर्नुहुन्न । उहाँका अनुसार पछिल्लो समय राजी समुदायका बालबालिका तथा युवामा शिक्षाप्रतिको रुचि बढ्दै गएको छ । विद्यालय, छात्रवृत्ति र प्राविधिक शिक्षाका अवसरबारे जानकारी बढ्दै जाँदा नयाँ पुस्ताले आफ्नो भविष्यका लागि विभिन्न बाटो रोज्न थालेको उहाँको अनुभव छ । “पहिलेभन्दा अहिले धेरै परिवर्तन आएको छ । नयाँ पुस्ताले धेरै कुरा सिक्ने र अगाडि बढ्ने अवसर पाएको छ । अब त्यसलाई उपयोग गरेर अझ अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । यसरी हर्षबहादुर र अरमानको एउटै परिवारको कथाले राजी समुदायमा आएको पुस्तागत परिवर्तनलाई देखाउँछ । जङ्गलीमा निर्भर भएर परिवारको जीवन धान्नुपर्ने पुस्ताबाट शिक्षा र सीप हासिल गरी रोजगारीको बाटो रोज्ने पुस्तासम्म आइपुग्दा समुदायको जीवनशैलीसँगै भविष्यप्रतिको सोचसमेत परिवर्तन हुँदै गएको छ ।

सामाजिक सुरक्षा र शिक्षाले बदलिँदै परिवारको सोच

शिक्षातर्फको परिवर्तनसँगै सामाजिक सुरक्षा र आवासका कार्यक्रमले विपन्न राजी परिवारको दैनिकीमा सहजता थपेको छ । सरकारले राजी समुदायका लागि प्रतिव्यक्ति रु चार हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । हर्षबहादुरका अनुसार परिवारको सीमित आम्दानीका बीच सामाजिक सुरक्षा भत्ता भाइहरूको पढाइ अघि बढाउने महत्वपूर्ण आधार बनेको थियो ।

उहाँका अनुसार सुरुमा यही भत्ताको सहाराले दुई भाइको पढाइ अघि बढाउन सहयोग पुगेको थियो । एक भाइले प्राविधिक शिक्षा हासिल गरी इन्जिनियर बनेपछि परिवारलाई अर्को भाइको पढाइका लागि खर्च व्यवस्थापन गर्न थप सहज भयो । “सामाजिक सुरक्षा भत्ता नभएको भए भाइहरूलाई पढाउन गाह्रो हुन्थ्यो । सुरुमा त्यही भत्ताले दुई भाइलाई पढाउन सहयोग गर्‍यो । एक भाइ इन्जिनियर भएपछि अर्को भाइलाई पढाउन पनि सहज भयो”, उहाँले भन्नुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्तासँगै राजी समुदायका लागि एकीकृत नमूना बस्तीसमेत निर्माण गरिदिएको छ । मैतु राजीको परिवारका छ सदस्यले सामाजिक सुरक्षा भत्तासँगै आवासको सुविधा पाएका छन् । सरकारले घर निर्माणमा सहयोग गरेपछि आवासको समस्या समाधान भएको उहाँ बताउनुहुन्छ । “पहिले हामीलाई धेरै समस्या थियो । सरकारले सामाजिक सुरक्षा भत्ता दिनुका साथै घर पनि बनाइदिएको छ । यसले धेरै सहज भएको छ”, उहाँले भन्नुभयो । सामाजिक सुरक्षा भत्ताले बालबालिकाको पढाइमासमेत सहयोग पुगेको उहाँको भनाइ छ ।

आर्थिक अभावका कारण पहिले शिक्षा प्राथमिकतामा पर्न नसके पनि अहिले राज्यबाट प्राप्त सहयोग र परिवारको सोचमा आएको परिवर्तनसँगै बालबालिकालाई विद्यालय पठाउनेक्रम बढेको छ । यसले राजी परिवारमा शिक्षा केबल तत्कालीन आवश्यकता नभई भविष्य निर्माणको आधार हो भन्ने बुझाइ विकास हुँदै गएको देखाउँछ ।

तुलसी राजीका अनुसार विगतमा गरिबीका कारण बालबालिकालाई विद्यालय पठाउन कठिन थियो । परिवारको दैनिक गुजारा चलाउनकै लागि बालबालिकाले सानै उमेरमा काम गर्नुपर्ने अवस्था थियो भने छोरीहरूको कम उमेरमै विवाहसमेत हुने गरेको थियो । अहिले भने राज्यबाट प्राप्त सुविधा र शिक्षाको महत्वबारे बढेको चेतनाले परिवारको प्राथमिकता परिवर्तन भएको छ । “पहिलेभन्दा अहिले धेरै सुविधा आएको छ । अहिले हामीले पनि आफ्ना हकअधिकार पाउनुपर्छ भन्ने कुरा बुझ्न थालेका छौँ”, उहाँले भन्नुभयो ।

पुरानो पुस्ताको अनुभवले पनि शिक्षाप्रतिको बदलिँदो सोचलाई देखाउँछ । पार्वती राजीले पारिवारिक परिस्थितिका कारण विद्यालयको शिक्षा निरन्तरता दिन सक्नुभएन । आमाको स्वास्थ्य अवस्था र पारिवारिक परिस्थितिका कारण १५ वर्षकै उमेरमा उहाँको विवाह भयो । कक्षा ५ सम्म मात्र पढ्न पाउनुभएकी उहाँ अहिले आफ्ना सन्तानको शिक्षाप्रति सचेत हुनुहुन्छ । “मैले पढ्न पाइनँ, तर मेरा बच्चाले पढ्नुपर्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।

मैतु राजीको अनुभव पनि उस्तै छ । आफूले विद्यालय जाने अवसर नपाए पनि अहिले उहाँका छोराछोरी विद्यालय जान्छन् । आफूले भोगेको अभाव र शिक्षाबाट वञ्चित हुनुपरेको अवस्थाले नै सन्तानको शिक्षाप्रति उहाँलाई थप सचेत बनाएको छ । राजी समुदायमा शिक्षा र जीवनस्तरप्रतिको सोचमा पुस्तान्तरण हुँदै गएको देखिन्छ । पहिले परिवारको दैनिक गुजारा चलाउनु नै मुख्य प्राथमिकता थियो भने अहिले छोराछोरीलाई विद्यालय पठाउनु, उनीहरूको शिक्षा पूरा गराउनु र सीप तथा रोजगारीका अवसर खोज्नु भविष्य निर्माणको आधारका रूपमा लिन थालिएको छ । सामाजिक सुरक्षा, आवास तथा शिक्षामा राज्यको सहयोगसँगै परिवारको सोचमा आएको यो परिवर्तनले राजी समुदायलाई परम्परागत जीवनशैलीबाट नयाँ अवसरतर्फ अघि बढाइरहेको छ ।

महिलाको सहभागितादेखि समुदायको नेतृत्वसम्म

राजी समुदायमा आएको परिवर्तन शिक्षा र रोजगारीमा मात्र सीमित छैन । महिला पनि विस्तारै सामाजिक सेवा, आयआर्जन र समुदायका गतिविधिमा सहभागी हुन थालेका छन् । तुलसी राजी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा समुदायमा काम गर्दै आउनुभएको छ । स्वास्थ्यसम्बन्धी सेवा र सचेतनाको कामसँगै समुदायमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा अधिकारका विषयमा चेतना बढ्दै गएको उहाँले अनुभव गर्नुभएको छ ।

महिला सामाजिक गतिविधिमा सहभागी हुनका साथै आफ्नै आम्दानीको बाटो पनि खोज्न थालेका छन् । भजनीकी पार्वती राजीका श्रीमान् मिल चलाउने काम गर्नुहुन्छ भने पार्वती अटो चलाएर आफ्नै आम्दानीको बाटो खोजिरहनुभएको छ । यसले राजी महिलामा आत्मनिर्भर बन्ने चाहना बढ्दै गएको देखाउँछ । समुदायको सामाजिक नेतृत्वमा पनि राजीहरूको सहभागिता बढ्दै गएको छ । हर्षबहादुर अहिले भजनी नगरपालिका–९ स्थित सोनपाल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसँगै नेकपा एमालेको वडा कमिटी हुनुहुन्छ ।

स्थानीय तहको कार्यपालिका तहमासमेत राजी समुदायको प्रतिनिधित्व हुँदै आएको छ । यसले समुदायका सदस्यलाई स्थानीय सरकारका योजना तथा निर्णय प्रक्रियामा आफ्ना आवश्यकता राख्ने अवसर दिएको छ । हर्षबहादुरका अनुसार केही वर्षअघिसम्म आफ्नो समस्या राख्नसमेत हिच्किचाउने समुदाय अहिले अधिकारका विषयमा बोल्न थालेको छ । “पहिले आफ्नो समस्या राख्न पनि डराउने अवस्था थियो । अहिले हामी आफैँ नेतृत्वमा बसेर समुदायका समस्या र अधिकारका विषयमा बोल्न थालेका छौँ”, उहाँले भन्नुभयो ।

आज राजी समुदायमा परिवर्तनको अर्थ जङ्गलीमा निर्भर जीवनबाट बाहिर आउनुमा मात्र सीमित छैन । आफ्ना सन्तानलाई विद्यालय पठाउनसक्ने अवस्था, रोजगारीको बाटो रोज्ने आत्मविश्वास, राज्यबाट प्राप्त अधिकारबारे जानकारी राख्ने चेतना र स्थानीय तहमा आफ्नै प्रतिनिधि देख्नसक्ने अवस्थासमेत परिवर्तनका सङ्केत बनेका छन् ।

एक पुस्ताले जङ्गलबाट परिवारको जीवन धान्यो । अर्को पुस्ताले शिक्षा लिएर सरकारी सेवाको बाटो समात्यो । राजी समुदायमा आएको यो परिवर्तन पुस्तौँदेखि भोगिएको अभाव, पछिल्ला वर्षमा विस्तार भएको राज्यको पहुँच र नयाँ पुस्ताको बदलिँदो सोचले निर्माण गरेको यो क्रमिक यात्रा हो । जङ्गलसँग जोडिएको जीवनबाट शिक्षाको उज्यालोसम्म आइपुगेको राजी समुदाय अब प्राप्त अवसरलाई रोजगारी, आत्मनिर्भरता, नेतृत्व र पहिचान संरक्षणसँग जोड्दै अघि बढ्ने चरणमा पुगेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्