आठराईद्वारा नगर बस सञ्चालन

तेह्रथुम, १९ असोजः

आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ ।
नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो
। नगर बस सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु ६० लाख रकम विनियोजन गरेको थियो ।

उक्त नगर बस आठराई गाउँपालिकाको केन्द्र, सक्रान्ति बजारदेखि पाँचथर सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुने बताइएको छ । सक्रान्तिदेखि फिदिमसम्मको भाडादर रु २०० निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामले बताउनुभयो । सक्रान्ति–फिदिम बीचको दूरी करिब ३५ किलोमिटर रहेको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा विद्यार्थी परिचयपत्र बोकेका विद्यार्थीलाई भने निःशुल्क सेवा दिइने उपाध्यक्ष इङ्नामले बताउनुभयो ।

त्यसैगरी, अपाङ्गता भएकाका लागि भाँडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त नगर बस हरेक दिन बिहान ८ः०० बजे सक्रान्ति बजारदेखि छुट्नेछ भने फिदिमदेखि अपराह्न ३ः०० बजे आठराई फर्किने गाउँपालिकाका प्रवक्ता एवम् ६ नं वडाअध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले बताउनुभयो ।

आठराई गाउँपालिकावासीको मुख्य बजार छिमेकी जिल्ला पाँचथरको फिदिम भएकाले उक्त रुटमा नगर बस सञ्चालमा ल्याइएको हो । यसको लागि पाँचथरको फिदिम नगरपालिकाको पनि साझेदारी रहेको जनाइएको छ ।

नगर बस सञ्चालनमा आएसँगै नागरिकको आवागमन सहज र सुरक्षित हुनाका साथै पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार–व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दिलकुमारले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्