कृषि मन्त्रालयको आधाभन्दा बढी बजेट मल खरिदमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयसँग मागेको साढे १३ अर्ब रुपियाँमध्ये १२ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । योसमेत गरी रासायनिक मल खरिद गर्न दिएको रकम २७ अर्ब ७५ रुपियाँ भएको छ जब कि कृषि मन्त्रालयको बजेट ४५ अर्ब पाँच करोड रहेको छ ।

सरकारले आ.व. २०७८/७९ बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिने जति मल खरिद गर्न नसकेपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको थियो ।

पहिले नै एक अर्ब रुपियाँ उपलब्ध गराइसकेको थियो भने ११ अर्ब ७५ करोड रुपियाँ हालसालै उपलब्ध गराएको कृषि मन्त्रालयका प्रवक्ता डा. कुमार सञ्जेलले बताउनुभयो ।

कृषि मन्त्रालयले खरिद गरेको दुई लाख ५० हजार मेट्रिक टनमध्ये ३० हजार मेट्रिक टन मलका लागि रकम अपुग हुँदा अर्थ मन्त्रालयले एक अर्ब रुपियाँ दिएको थियो । एक लाख मेट्रिक टन मल ल्याउन बाँकी ११ अर्ब ७५ करोड रुपियाँ अर्थ मन्त्रालयले उपलब्ध गराएको प्रवक्ता सञ्जेलले बताउनुभयो ।

अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मल मात्र खरिद गर्न सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरिएको थियो । २७ अर्ब ७५ करोड रुपियाँले तीन लाख ५० हजार मेट्रिक टन मल मात्र आउने भएको छ ।

अझै एक लाख मेट्रिक टन मलको अभाव देखिएको छ । प्रवक्ता सञ्जेलले भन्नुभयो, “धान सिजनसम्मका लागि करिब चार लाख मेट्रिक टन मल भए पुग्छ, तीन लाख ५० हजार मेट्रिक टन आउने भयो अब बाँकी पचास हजार मेट्रिक टन मल यताउतिबाट तानतुन गरेर पु–याउँछौँ । ”

कृषि मन्त्रालयले हरेक वर्ष करिब पाँच लाख मेट्रिक टन मल खरिद गर्दै आइरहेको थियो । तर, यसपालि अन्तर्राष्ट्रिय रूपमा मलको मूल्यमा भएको वृद्धिका कारण सरकारले छुट्याएको रकमबाट अढाई लाख मेट्रिक टन मल मात्र आउने भएको हो ।

सरकारले पनि बर्सेनि मलको अनुदान रकममा वृद्धि गर्दै आएको छ । रासायिनक मल खरिदका लागि आ.व. २०७४/७५ मा पाँच अर्ब रुपियाँ उपलब्ध गराइएकोमा २०७५/७६ मा सात अर्ब, २०७६/७७ मा नौ अर्ब, २०७७/७८ मा ११ अर्ब रुपियाँ पु–याइएको थियो ।

आ.व. २०७८/७९ मा एकै पटक १५ अर्ब रुपियाँ पु–याएइएको हो । यो चालू आर्थिक वर्षमा १५ अर्ब रुपियाँले पनि नपुग्ने भएपछि थप साढे १३ अर्ब रुपियाँ माग गरेको छ। त्यसले पनि नपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले दाबी गरेको छ ।

अहिले रासायनिक मलको मूल्य तीन सय प्रतिशतले वृद्धि भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार दुई वर्षअघि प्रतिमेट्रिक टन २४०–२५० अमेरिकी डलरमा खरिद हुने रासायनिक मल अहिले एक हजार एक सय अमेरिकी डलर पुगेको छ ।

छ महिनाअघिसम्म मलको मूल्य प्रतिमेट्रिक टन तीन सय डलर थियो । अहिले एक हजार एक सय डलर पुगेको कारणले नेपालमा मलको अभाव देखिएको कृषि मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्याधिक वृद्धि भएका कारण मलका लागि गरिएको टेन्डर पनि पटकपटक रद्द हुने गरेको छ । मूल्यकै उतार चढावका कारण ढुवानी कम्पनीले समयमा मल नल्याइदिएका कारण अहिले मलको अभाव देखिएको कृषि मन्त्रालयले जनाएको छ ।–गोरखापत्र

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्