एपीएफसँग रोकिँदा आर्मीको उपाधि दाबेदारी कमजोर

काठमाडौं, १६ पुस

विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग एक एक  गोलको बराबरी खेल्दै अंक बाढेपछि सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबको उपाधि दाबेदारी कमजोर बनेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको पहिलो खेलमा लिएको अग्रता चार मिनेट पनि टिकाउन नसक्दा आर्मी अंक बाढ्न बाध्य भएको हो । 

स्ट्राइकर जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमा गरेकोे गोलबाट आर्मीले अग्रता लिएको थियो । सबिन थापाले बक्स बाहिर जर्जलाई रोक्न नसक्दा त्यही मुभमेन्टमा जर्जले बललाई पोस्टको दिशा दिए । जापानीज गोलरक्षक युया कुरियानाले समेत बललाई ठम्याउन सकेनन् र बलले जाली चुम्यो । 

तर त्यसको चार मिनेटपछि नै एपीएफ खेलकाे लयमा फर्कियो ।  आर्मीका गोलकिपर विकेश कुथुले नविन लामाको प्रहार नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई विकीले  पोस्टको दिशा दिएका थिए । 

खेलमा दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

यसअघि नवौं मिनेटमा भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपीएफका गोलरक्षक याया कुरियामाले विफल पार्दा आर्मीले अग्रता लिने अवसर गुमायो ।

२० औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरिँदा आर्मी पुनः निराश बन्यो । 

३८ औं मिनेटमा एपीएफले अग्रता दिने सुनौलो अवसर गुमायो । स्ट्राइकर आशिष लामा आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न चुके ।

५३औं मिनेटमा एपीएफका नविन लामाको प्रहार विकेशले विफल पारेका थिए ।

आर्मी सात खेलमा ११ अंकसहित चौथो स्थानमा छ । एपीएफले सातौं चरणसम्म १० अंक गुमाइसकेको छ ।  एपीएफको समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ ।

आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौँ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।

शुक्रबार नै हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटीले फ्रेन्डस क्लबको सामना गर्दै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्