मनाङलाई कम्तिमा एक दिनलाई शीर्षस्थान

काठमाडौं, १७ पुस

ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई घरेलु मैदानमा १–० अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा कम्तिमा एक दिनका लागि शीर्षस्थानमा फर्किएको छ । 

पोखरा रंगशालामा शनिबार भएको खेलमा कप्तान अन्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा मनाङले पाँचौ जित निकाल्यो । 

जितसँगै मनाङले ७ खेलबाट १६ अंक बनाएको छ र शीर्षस्थानमा रहेको छ । यता, एक खेल कम खेलको मच्छिन्द्र फुटबल क्लब १४ अंकसहित दोस्रो स्थानमा छ । 

आइतबार साँझ पौने ५ बजे हुने खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरे शीर्षस्थानमा उक्लने छ । यदि हार वा बराबरले भने मनाङ शीर्षस्थानमै हुनेछ । 

आइतबारको खेलले एएफसी कप–२०२२ छनोटमा स्थान बनाउने टोलीको टुंगो समेत लाग्नेछ । साँतौँ चरणको शीर्षस्थानमा रहने टोली यस सिजनको एएफसी कपमा छनोट हुनेछ । 

पोखरा रंगशालालाई होम मैदान बनाएपछि दोस्रो जित निकाल्ने क्रममा अन्जनले भारतीय खेलाडी दयानन्द सिंहको हेड पासमा हेड गोल गरे ।  

यसअघि पहिलो हाफमा बीबीसीका शिशिर लेखीले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे । योसँगै मनाङले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको छ । गत शनिबार पुलिसलाई ३–१ ले हराएको थियो । यता, पराजित बीबीसी ७ खेलबाट ५ अंकसहित १२औँ स्थानमा  छ। 

आज काठमाडौंमा भएको पहिलो खेलेमा थ्रि स्टारले प्रतिद्वन्दी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै पाँचौ स्थानमा उक्लियो । आजको तेस्रो खेलमा अहिले पौने ५ बजे संकटा क्लब र च्यासल युथ क्ल्ब भिड्नेछन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्