सातदोबाटोलाई हराउँदै हिमालयन पाँचौं स्थानमा उक्लियो

काठमाडौं, १९ पुस 

सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको एक मात्रै खेलमा शेर्पाका लागि ४४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । प्रतियोगितामा शेर्पाको यो लगातार तेस्रो जित हो । 

सातदोबाटोका डिफेन्डर पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई बक्सभित्र लडाएपछि गरेपछि पाएको पेनाल्टीलाई विश्वासले सदुपयोग गरे । 

खेलको इन्जुरी समयमा शेर्पाका अमृत श्रेष्ठले मार्टिन  नाङ्गालाई बक्स भित्र लडाएपछी पाएको पेनाल्टी मार्टिनलेनै सदुपयोग गर्न सकेनन् । शेर्पाका गोलरक्षक दीप कार्कीले उनको पेनाल्टी बचाएका थिए । औसत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने केहि अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । 

जितसँगै शेर्पा सात खेलबाट ११ अंकसहित सातौं चरणको समाप्तिमा तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ । 

यसअघि शेर्पाले च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गरेको थियो । योसँगै सातौं चरणका खेल सकिएका छन् ।  साविक विजेता मछिन्द्र फुटबल क्लब सात खेलबाट १७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । Photo : ANFA

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्