एमाले धादिङको अधिवेशन आजःसर्वसम्मत नेतृत्व टुंग्याउन कसरत

नेकपा एमालेको धादिङ सहित देशभर आज एकसाथ अधिवेशन हुँदैछ ।

आज र भोलि धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा हुने एमाले धादिङको ८ औं जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो।

सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेको पनि आकांक्षी धेरै हुँदा समस्या देखिएको उहाँको भनाई छ। जिल्लाभरीबाट ७ सय १ प्रतिनिधि अधिवेशनका लागि चयन भएका छन् ।

आयोजक कमिटीबाट ६९, १३ वटा स्थानिय तहबाट ५४५, सल्लाहार परिषदबाट १५, जनवर्गिय संगठनहरुबाट ३९ जना र मनोनित प्रतिनिधि समेत गरी ७ सय १ जना प्रतिनिधि सहभागी हुने सापकोटाले बताउनुभयो।

प्रतिनिधिहरू मात्रै सहभागी हुने यस ८ औं जिल्ला अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला सहभागिता सुनिश्चित गर्दै समावेशीलाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटिको लागि धेरै जनाले नेतृत्वको लागि दावी गरिरहेको एमाले धादिङले जनाएको छ।

एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलको प्रमुख आतिथ्यतामा हुने अधिवेशनमा पार्टीको राजनैतिक तथा सांगठनिक प्रतिवेदन एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले प्रस्तुत गर्ने उहाँले बताउनुभयो।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो।

एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो ।जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ ।

जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ ।एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्