नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ।
पछिल्लो केही दिनयता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ।पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५५६ को कोरोना परिक्षणमा ४ हजार ६३६ संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालाबाट १० हजार ४१२ जनाको पीसीआर गर्दा ३ हजार ७०३ र ४ हजार १४४ जनाको एन्टिजेन परिक्षणमा ९३३ गरी ४ हजार ६३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।शुक्रबारको तुलनामा करिब ५ सयले कम हो।
शुक्रबार ५ हजार ८७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ४९ हजार ६४५ पुगेको छ ।यसैगरी पछिलो २४ घण्टामा ३५० संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १६ हजार ३ पुगेको छ।
संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९६.१ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६१७ पुगेकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।