बद्रीप्रसाद दाहाल
धादिङ,०३ चैत।
घुम्दै फिर्दै फागुन पूर्णिमाको महा उत्सव हाम्रा घरआगँनमा आइपुगेको छ । फागुन शुक्ल पूर्णिमाको यो सद्भाव र प्यारको चाड यसपालि नेपालको पहाडी जिल्लामा चैत ३ गते र तराईका जिल्लाहरुमा ४ गते मनाउन सरकारले बिदा पनि दिएको छ ।
सनातन संस्कृतिको कडीको रुपमा रहेका पर्वहरुमा फागु, होली, होरी र रङ्गको उत्सव फागुपूर्णिमा पारस्परिक सौहाद्र्रता, भावात्मक रुपमा मानवलाई एकाकार गराएर रसरङ्गभर्ने पावन तिथि हो ।
मूलतः ऋतुनायक वसन्त र कामदेवको पूजाबाट थालनी हुने यो पर्वलाई अर्को शब्दमा मदनोत्सव पनि भन्दछन्। नेपालमा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारको अगाडि रङ्गीन ध्वजापताका सहितको चीर ठड्याएर होलीको थालनी गरिन्छ । त्यसको आठौँ दिन अर्थात् फागुपूर्णिमाको तिथिमा टुँडीखेलमा लगी यसलाई जलाएर समापन गर्ने प्रचलन छ ।
पौराणिक कथनअनुसार त्रेता युगमा अत्यन्त शक्तिशाली दानवराज हिरण्यकशिपू पूर्ण अनीश्वरवादी थिए । उनका छोरा प्रल्हाद भने सानैदेखि आस्तिक खालका विष्णुभक्त हुनपुगे । हरेक प्रयास गर्दा पनि आफ्नो छोरा प्रल्हाद ईश्वरीय आस्थाबाट डेग नचलेपछि हिरण्यकशिपूले उनलाई कुलङ्गार ठम्याएर मार्ने योजनाका जालहरु बुने ।
जे गर्दा पनि प्रल्हादलाई मार्न नसकेपछि होलिकामार्फत जलाएर इति गरिदिने विचार गरे, जुन उनको अन्तिम कडी थियो । आफ्नी बहिनी होलिका जो आगोले नजल्ने वरदान पाएकी थिइन् तिनैको काखमार्फत अग्निकुण्डमा राखेर संहार गर्ने योजना बन्यो ।
लगत्तै विष्णुभक्त प्रल्हादलाई निष्ठुरी फुपूदिदीले काखमा लिएर अग्निकुण्डमा प्रवेश गर्दा होलिका नै जलिन् तर बालक प्रल्हादलाई भने केही पनि भएन । त्यही वेलादेखि दानवीय हिँसालाई दुत्कार्दै यो पर्वले धर्म, शान्ति र आस्तिकताको जयगान गाउँन सफल भएकैले पर्वरुपमा मनाइँदै आएको कुरा वेदव्यास प्रणीत पुराणहरुले बताएका छन् ।
त्यस्तै अर्को सन्दर्भ द्वापर युगको हो, बाल मुकुन्द भगवान् कृष्णचन्द्र महाराजलाई सिध्याउन कंशले पूतना नाम गरेकी मायावी राक्षस्नीलाई गोकुलका सबै बालकहरुमा स्तनपानको बाहना बनाएर संहार गर्न खटाए । वास्तवमा पूतना अद्भूत क्षमताकी थिइन्। नारी समाजदेखि पुरुषतक मिलनसार बनेर प्रभाव पार्नसक्ने उनको चलाखी थियो ।
यस क्रममा सबैभन्दा पहिले ऊ कृष्णलाई दूध खुवाउन गई । यो कुरा कृष्णले बुुझेर स्तन चुस्ने बहानामा त्यो षड्यन्त्रकी उपकरणलाई संहार गरिदिए । अनि सबै गोकुुलवासीले यही पावन तिथिमा हिँसालु पूतनाको मरेको शरीर जलाएररङ्गको उत्सव गर्दै खुुसीयाली मनाए त्यही वेलाबाट यो उत्सवले झनै निरन्तरता पाएर लोकजीवनमा संझनास्वरुप फागु महोत्सवको चलन रुचि र आस्थाको प्रतिक बन्यो ! कुरा के थियो भने कंशलाई मार्ने बालक गोकुलको यशोदाको घरमा जन्मिएको छ भनेर आकाशवाणी भएकैले यो हिंसानीति कंशले अख्तियार गरेको हो ।
यसरी धर्म, शान्ति, मानवता, करुणा, प्रेम र सद्भावको स्थापनार्थ यी उग्रवादी तत्वको संहार भएको कुरा थाहा लाग्छ । यसैले फागुपूर्णिमाले हामीमातामसी गुुणको हार र सत्वगुणको जीत,असत्यमाथि सत्यको विजय हुन्छ, अन्याय ढलेर न्याय संस्थापित हुन्छ भन्ने दृढ भावना दिएकैले त्यसैलाई विम्ब बनाएर फागुको त्यौहार रसरङ्गले भर्दै लामो यात्रा चल्दै आएको हो ।
होली खेल्न संसारभर नै विभिन्न किसिमका रङ्गहरु प्रयोग गर्दै आएका छन् फग्गू वा होलीबाजहरुले । रङ्गहरुले नै मान्छेका मनलाई मनोवैज्ञानिक प्रभाव पारेर दङ्ग उमङ्ग मङ्गल अमङ्गल शान्त उत्तेजक बनाउने हुुँदा यो पर्वमा हाम्रो चित्तलाई सकारात्मक प्रभाव पार्ने फाउहरुको प्रयोग गर्नु जरुरी छ । विशेष गरेर रातो, पहेँलो, हरियो, नीलो र सेतो रङ व्यवहारमा आउँछ । रातो राम्रो गुलियो मीठो भन्ने उखान पनि छ ।
सौभाग्य, हृदयको परिशुद्धि, शौर्यता, जोस, जिज्ञासु, महत्वाकाङ्क्षा र प्रेमको सङ्केत रातो रङ्गले गर्दछ भन्ने कुरा मनोविज्ञहरुको राय छ । त्यसैगरी हरियोले प्रकृतिप्रतिको मोह, शान्ति र मेलमिलाप एवं समन्वयकारी दृष्टिलाई सबल पार्दो रहेछ । पहेँलो रङ्गले अपार भक्तिको भावना जागरण गराउने, धार्मिक आस्था बलवती बनाउने, आत्मीयता मनोरञ्जन र वात्सल्य धारा प्रवाहित हुने कुरा विज्ञहरु बताउँछन् ।
नीलो धर्मको विम्ब, धर्मको आलोक, हृदयको विशालता, सन्तुलित विचारको प्रवर्तन र प्रवर्धनमा कामयावी हुँदो रहेछ । सेतो रङ्ग पवित्रता र कर्मवादी बन्ने प्रेरणा दिने हुँदा प्रायः फागु खेल्दा यिनै रङ्गको प्रयोग गरिएको हो । सेतोरङका कपडा लगाउँदा सूर्यको परावैजनी किरणबाट भाइरस बोकी आएका किटाणुहरुलाई प्रत्यवर्तन गर्ने क्षमता हुन्छ भनी विज्ञहरु बताउँछन् ।
यसैले गर्दा सेतो रङ्ग ग्राह्य हुन पुगेको हो ।कालो रङ्ग अशुभको परिचायक हो, जसले मात्सर्य (द्वेष,ईष्या, घृणा) र स्वार्थकोविरोधका भाव जगाउँछ ।खास गरेर हिजोआज केमिकल मिसिएका रङहरु बजारमा छ्याप्छ्याप्ती छन् । त्यसले हाम्रो छालालाई असर पुु¥याउँछ ।अतः प्राकृत रुपमा विभिन्न तरु बल्लरी र फूलहरुबाट बनाइएका रङ्गहरुको प्रयोग गर्दा हाम्रो शरीरलाई अनुकूल बनाउँछ ।
मोबिल, ध्वाँसो र अन्य हानिकारक रङ लगाएर शारीरिक एवं मानसिक असर बुझक्कीहरुले पार्न हुन्न । फागुका हास्य गीत, श्रृङ्गारिक काव्यहरु भल्गर बनाएर आफ्ना साङ्गीतिक प्राकृतपनलाई मैल्याउन हुन्न युवा पुस्ताले । हिपहप र पराईका गलत कुवृत्तिलाई अनुकरण गरेर लागूपदार्थ सेवन गरी मोटर साइकल, स्कुटी र साना सबारी साधनमा मातेर उच्छृङ्खल व्यवहार गर्नु ढुङ्गेयुगतिर फर्कनु हो । त्यसैले त लागूभागू मतर्कालु बन्न हुँदैन फागुभनेर बुझक्की भन्दछन् ।
आदिम युगदेखि लगातार चल्दै आएको फागुको परंपराको वैज्ञानिकता अध्ययन गरी संयमित, मिलनसार बनेर समता, न्याय, सौहाद्र्रताको भावमा रहनुु हामी सबैको मानवोचित कर्तव्य हो । गन्तव्यमा हिँडेका कयौँ यात्रु, किशोरी,बृद्ध, बालबालिका र आमाजमातमा अनावश्यक रङ वा पचाका हानेर व्यवधान सिर्जना गर्ने कुवृत्तिको अन्त्य गर्नुपर्छ ।
राक्षसी दुर्भाव हटाएर मानवीय सुुभावको राज गराउनु नै फागुको मर्म हो । यसैले मनाउँदै आएको रङ्गको पर्व होली दङ्ग हुँदै नयाँ उत्साह सञ्चार गरेर हाम्रो जीवनमा अभिनव वसन्त ल्याउनु पर्दछ । अतः यो महपर्वको अवसरमा सबैले भनौँ—ःजय होली, जय होरी, जय फागु! ! !
अस्तु ।