धादिङ,११ चैत।
धादिङमा म्यादी प्रहरीमा भर्ना हुन माग संख्या भन्दा दोब्बर बढीले आवेदन दिएका छन्।
स्थानीय तहको निर्वाचनका लागि धादिङमा एक हजार ४०७ म्यादी प्रहरी माग रहेकोमा २ हजार ८ सय बढिले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवत्ता(डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो।
आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा धादिङमा आज शुक्रबार थप ३०३ जनाले आबेदन दिएसँगै हालसम्म आवेदन दिने २ हजार ८२७ जना पुगेको डिएसपी भण्डारीले बताउनुभयो।
आवेदन दिनेमा महिला भन्दा पुरुषको संख्या बढि रहेको छ । आवेदन दिनेमा महिला ६ सय ६८ र पुरुष २ हजार १ सय ५९ जना रहेको भण्डारीले बताउनुभयो।धादिङमा एक हजार ४०७ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकता अनुसार गस्तीमा खटाइने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।
स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाकालाई ४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।
म्यादी प्रहरीले पारिश्रमिक मध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनबापत सात हजार २ सय, पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।