धादिङमा पनि नमुना मतदान

धादिङ,२४ बैशाख ।
धादिङमा नमुना मतदान कार्यक्रम गरिएको छ । शनिबार जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको व्यवस्थापनको तयारीस्वरुप निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरेको हो ।

नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगाएत विभिन्न स्थानीय तहमा निर्वाचनको समयमा खटिने कर्मचारीहरुलाई नमुना मतदान कार्यक्रम संञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीले सहजीकरण गर्नुभएका कार्यक्रममा मतदान स्थलको सुरक्षा, कस्ता मतदाताले मत हाल्न पाउने, बुथ क्याप्चर भईहालेमा के गर्ने, निमिदा मत पत्र लगाएत भईपरि आउने समस्या र समाधानका विषयमा तालिम गरिएको थियो ।

नमुना मतदान केन्द्रमा ३० गते हुनेजस्तै व्यवस्थापन गरी महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो। प्रवेश गर्ने ठाउँमा र मत पेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको थियो।

नमुना मतदानमा मतदातालाई केन्द्रमा प्रवेश गर्ने प्रक्रियादेखि लाइन बस्ने, मतपत्र लिने, हातको औँलामा मसी लगाउने, मतदान गर्ने, मतपत्र पट्याउने र मत पेटिकामा मतपत्र खसाल्ने लगायत सबै प्रक्रिया पूरा गरिएको थियो । प्रमुख निर्वाचन अधिकृत ज्ञवालीका अनुसार धादिङमा सुरक्षाकर्मी बाहेक १ हजार ५१५ कर्मचारी र ९०९ जना स्वयंसेवक चुनावका लागि खटिनेछन् ।

धादिङमा आउनुपर्ने मतपत्र सबै आइसकेको र कर्मचारीको तालिम सकिएर सम्बन्धित मतदान केन्द्रमा कर्मचारी खटाउन थालिएको पनि ज्ञवालीले बताउनुभयो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान र तालिमहरू दिँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्