गत आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो दरमा घट्यो । गएका श्रमिकमध्ये पनि करिब ५० प्रतिशत दक्ष थिएनन् ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा श्रम इजाजत नवीकरण गरेर जानेसहित एक लाख ६६ हजार ६९८ नेपाली श्रमिक विदेश गए । तीमध्ये ८० हजार अदक्ष कामदार थिए ।
त्यसैगरी, ७० हजार सामान्य सीप जानेका र १५ हजार ५०० जना सीपयुक्त जनशक्ति थिए । २४६ जना व्यावसायिक पेसा गने थिए भने ६१ जना उच्चस्तरको दक्ष जनशक्ति थिए ।गत आर्थिक वर्ष २०७७/७८ मा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ७२ हजार ८१ मा खुम्चिएको थियो । आज ०७६÷७७ कोभन्दा यो २ं६४ प्रतिशत अर्थात् झण्डै तीन भाग कम हो ।
वैदेशिक रोजगारमा जाने अदक्ष कामदारहरूले विभिन्न समस्या झेल्दै आएका छन् । आवश्यक सीप–दक्षताको अभावमा धेरैजसोले ज्यादै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ ।कार्यस्थलमा हुने दुर्घटनाको एक कारण कामदारको अदक्षतालाई मानिएको छ । गत वर्ष २६ जना नेपाली श्रमिकले काम गर्दागर्दै घटनामा ज्यान गुमाए ।
मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, काममा पर्याप्त सावधानी नअपनाउने लगायत कारणले कार्यस्थलमै श्रमिकहरूले ज्यान गुमाइरहेका छन् ।
योजना कागजमा सीमित
सरकारले वैदेशिक रोजगारीमा जाने युवाको सीप प्रमाणीकरण गर्नुपर्ने नियम लागू गरेको छैन । विभिन्न १२ क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम २०७६ असारबाट लागू गर्ने भनेपनि लागु हुन सकेको छैन ।
पहिलो चरणमा हाउस वाइरिङ÷इलेक्ट्रिसियन, सेक्युरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, वेटर, कुक, पेन्टर, गामेन्ट÷टेलरिङ र पम्बिङको काम गर्न विदेश जाने कामदारलाइै सीप सिकेको प्रमाणपत्र अनिवार्य गर्न सरकार असफल भएको छ ।
त्यतिबेला म्यानपवावर कम्पनीहरूको तयारी नपुगेको भन्दै सरकारले लागु गर्ने समय सारेको थियो । यस्तो व्यवस्था लागू भए सीपमूलक तालिम लिएको प्रमाणपत्र नभई अन्तिम श्रम स्वीकृति नपाएर व्यवसायमा असर पर्ने भएपछि म्यानपावर कम्पनीहरूले यसको विरोध गर्दै आएका छन् ।
वैदेशिक रोजगार विभागको कार्यालय काठमाडौंका शाखा अधिकृत प्रदीप ढकाल सरकारले निर्णय गरे यस्तो व्यवस्था लागू हुनसक्ने बताउँछन् ।
सीप सिकाएर विदेश पठाउने व्यवस्था वैदेशिक रोजगार ऐनमा छ । सीप सिकेर विदेश जाँदा कामदारको सेवा सुविधा बढ्नुको साथै कार्यस्थलमा सुरक्षा पनि प्रत्याभूत हुने वैदेशिक रोजगार मामिलाका जानकार मधुविलाश पण्डित बताउँछन् ।
‘कामदारको सुरक्षा र हितमा सीपले महत्वपूर्ण भूमिका खेल्छ’, उनी भन्छन्, ‘त्यसो हुँदा नेपाली कामदारले विदेशमा असल वातावरणमा सहजसँग काम गर्न सक्ने अवस्था बन्छ, रेमिट्यान्स पनि बढ्छ ।’
सीप नसिकी जाँदा धेरै नेपाली कामदार विदेशमा पीडित बनेका छन् । सीप नहुँदा तलब सुविधा नै राम्रो पाउँदैनन् । लाख रुपैँया खर्च गरेर गएर तुरुन्तै फर्किनुपर्ने बाध्यता पनि उत्तिकै छ ।
वैदेशिक रोजगार विभागले कामदार मागको पूर्व स्वीकृतिका आधारमा अन्तिम श्रम स्वीकृत दिने गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरू सीपमूलक तालिम अनिवार्य गर्दा अन्तिम स्वीकृति लिने प्रक्रिया अझै झन्झटिलो हुने दाबी गरिरहेका छन् ।
रोजगारदाता कम्पनीले कामदारलाई दिने करारपत्रमा उल्लेख हुने पदका आधारमा अन्तिम श्रम स्वीकृति दिने व्यवस्था नगरे सीप अनिवार्य गर्नुको अर्थ नहुने उनीहरू बताउँछन् ।
आवश्यक पूर्वाधार र नीतिगत तथा कानुनी व्यवस्थासहित तयारी सकेर मात्र सीप प्रमाणीकरण अनिवार्य गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङको भनाइ छ ।‘सीप सिक्ने व्यवस्थालाई सहजर पारदर्शी बनाउनुपर्छ’ उनी भन्छन्, ‘सरकारले बिनातयारी निर्णय गर्दा समस्या भयो ।’–अनलाईन खवरबाट साभार