झापामा तोरी खेतीमा अकर्षण बढ्दो

झापा, २६ मंसिर 

झापमा बर्सेनि तोरी खेती बढ्दो छ । कृषिका लागि उर्वर मानिने झापामा सिँचाइको पहुँच बढेसँगै तोरी खेती बर्सेनि बढ्दै गएको छ । झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जसकारण केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

तेल्हन बाली तोरी आर्थिक वर्ष ०७५/७६ मा चार हजार हेक्टरमा हुँदै आएको थियो । उक्त क्षेत्रफल बढेर आर्थिक वर्ष ०७६/७७ मा पाँच हजार पाँच सय हेक्टरमा हुन थालेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए । यस्तै, यो क्षेत्रफल बढेर आर्थिक वर्ष ०७७/७८ मा पाँच हजार ३० हेक्टर पुगेको उनले जानकारी दिए । भट्टराईका अनुसार उक्त क्षेत्रफलमा ६ हजार ६ सय ३६ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।

‘पछिल्लो समय झापामा धेरै ठाउँमा सिँचाइ सुविधा पुगेको छ । जसकारण पनि तोरी खेती बढेको हो,’ उनले भने । यस्तै, उत्पादन लागत कमल हुँदा पनि तोरी खेती बढेको भट्टराई बताउँछन् । ‘तोरीमा उत्पादन लागत कम छ । उत्पादनमा खासै मिहिनेत पनि पर्दैन,’ उनी भन्छन्, ‘आम्दानी पनि राम्रो छ । जसकारण तोरी खेती बढेको हुनुपर्छ ।’ कृषि ज्ञानकेन्द्रले तोरी ब्लक कार्यक्रम सञ्चालन गरेका कारण तोरीको उत्पादन क्षेत्र बढेको उनले बताए । 

तोरी खेतीका लागि उर्वर माटो चाहिने उनी बताउँछन् । तीन बालीसम्म लगाउन सकिने उत्पादकत्व क्षमता भएको खेत भएमा मात्र तोरी लगाउन मिल्ने उनी बताउँछन् । ‘तोरी उत्पादनका लागि वर्षमा तीन बाली दिन सक्ने खेत हुनुपर्छ । धान उठाएपछि असोज, कात्तिकमा तोरी लगाएर पुसमा निकाल्न सकिन्छ,’ भट्टराईले भने, ‘त्यसपछि पनि मकै र धानजस्ता बाली लगाउन सकिन्छ । त्यसकारण पनि तोरीको खेती बढेको छ ।’

तेलका लागि प्रयोग हुने झापामा उत्पादित तोरीका लागि अन्य ठाउँमा बजार खोज्न नपर्ने उनले बताए । झापाको तारी झापामै खपत हुने उनको भनाइ छ । 
पहिले पहिले मानिसले घरमा तेल प्रयोग गर्नका लागि मात्र सामान्य खेती हुन्थ्यो । तर, पछिल्लो समय युवाहरूको खेतीमा आकर्षण बढेकाले तोरी खेतीलाई व्यावसायिक बनाउन लगेको शिवसताक्षी नगरपालिकाका अगुवा किसान तुलसी बाँस्कोटाले बताए । उनले अन्य बालीमा भन्दा तोरीमा राम्रो आम्दानी गर्न सकिने जानकारी दिए । 

लामो कोरोना कहरले युवाहरू स्वदेशमै केही गरौं भन्नेहरूको संख्या बढ्न थालेको छ । जसकारण चालू आर्थिक वर्षमा युवा लक्षित कार्याक्रमलाई जोड दिइएको ज्ञान केन्द्रले जनाएको छ । जसको परिणामस्वरूप जिल्लामा कृषि उत्पादन बढ्दै गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्