काठमाडौं : पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भारतमा बढ्दै गएका छन्। भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न राज्यमा नयाँ प्रकारको उक्त भेरियन्ट फैलिने क्रम केही बढेपछि रात्रिकालीन कर्फ्यूसहित विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरिसकेका छन्।
अन्य राज्यमा पनि भिडभाड हुने स्थलमा कडिकडाउ सुरु गरिएको बताइएको छ। जसले गर्दा नेपालमा समेत नयाँ भेरियन्टका संक्रमित बढ्न सक्ने जोखिम बढ्दै गएको बताइन्छ।
यस अघि नेपालमा कोरोनाको पहिलो र दोस्रो लहरमा पनि भारतमा कोरोना संक्रमणदर बढेको एक महिना पछि नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको थियो।
भारतमा पहिलो लहरका क्रममा सङ्क्रमण उत्कर्षमा पुगेको एक महिनापछि नेपालमा पनि सङ्क्रमितको सङ्ख्या उच्च भएको थियो भने मन्त्रालयका अनुसार भारतमा अवस्था जटिल भएको १५ देखि २० दिनमा नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको थियो।
खुल्ला सिमाना भएको र धेरै नेपालीहरू भारतमा रोजगारी लगायतले जाने आउने गर्ने हुँदा भारतमा संक्रमण बढ्दै जादा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा कृष्ण पौडेल बताउँछन्।
‘भारतसँग हाम्रो खुल्ला सीमाना छ, अझै दैनिक भारत ओहोरदोहोर गर्ने धेरै हुँदा त्यहाँ संक्रमण बढ्दा हामीलाई प्रत्यक्ष असर गर्छ, हुन त हामीले सीमामा राखिएका हेल्थ डेक्सहरूलाई कडाइका साथ सक्रिय बनाएका छाैँ’ उनले भने।
यस्तो अवस्थामा अझ बढी परीक्षणहरू, सिक्वेन्सिङ र यो सँगसँगै जनस्वास्थ्यका मापदण्डहरू पालना हुने खालका क्रियाकलाप बढाउने गरी र कोभिड-१९ को खोपलाई तीव्रता दिनेगरी काम भइरहेको समेत उनले बताए।
ओमिक्रोन रोक्न सरकारी तयारी के छ?
भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि मन्त्रालयले यसको रोकथामको लागि तयारी तीब्र बढाएको छ। आजै मन्त्रालयमा भारतबाट आउने मानिसहरूलाई कसरी निगरानी गर्ने, तथा सीमाहरूमा कसरी कडाइ गर्न सकिन्छ भन्ने बारे बैठक बस्दै छ।
यस्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको एक टोली नेपालगन्ज पुगेको निर्देशक पौडेलले बताए। ‘भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएपछि सीमामा कसरी कडाइ गर्न सकिन्छ भनेर हाम्रो एक टोली हाल नेपालगन्ज पुगेको छ, त्यो टोली आएपछि पनि हामीले अब कसरी जान सकिन्छ भन्ने एउटा निचोड आउँछ’ उनले भने। अहिले निगरानी गर्ने काममा ध्यान दिइएको छ।
परीक्षणको अवस्था के छ?
ओमिक्रोन भेरियन्ट भारतमा बढ्न थालेपछि विशेषगरी भारतबाट आएकाहरूमा परिक्षण गर्दा पिसिआर पोजेटिभ देखिएका सबैको जीन सिक्वेन्सिङ गर्ने गरेको डा पौडेलले बताए। उनले भने,‘हामीले भारतबाट आएका र पछिल्लो समय सीमा क्षेत्रमा पिसिआर पोजेटिभ देखिएकाहरूको जीन सिक्वेन्सिङ गर्ने गरेका छौँ’ उनले भने।
कसरी पत्ता लाग्छ ओमिक्रोन भेरियन्ट?
कोरोना भाइरसको भेरियन्टहरू पत्ता लगाउन जीन सिक्वेन्सिङ भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण गर्ने गरिएको छ। तर ओमिक्रोन भेरियन्टमा एस जीन म्युटेसन भएकाले यो नेगेटिभ आउँछ। पिसीआर पोजेटिभ र एस जीन नेगेटिभ आएको नमूनाको मात्र जीन सिक्वेन्सिङ गर्ने गरी मापदण्डमा तयार पारिएको डा पौडेलले बताए।
उनले भने,‘हाम्रोमा देखिएका भेरियन्टमा सुरुसुरुमा कोरोना सबै खालमा जीन पोजेटिभ आउँथ्यो। एस जीन पनि पोजेटिभ नै आउँथ्यो तर हाल ओमिक्रोन भेरियन्टको एस जीनमा म्युटेसन भएको छ, जसले गर्दा पिसीआर परीक्षणका क्रममा एस जीन नेगेटिभ आएका नमूनाको मात्र जीन सिक्वेन्सिङ गर्ने गरिएको छ।’
मन्त्रालयले तयार पारेको जीन सिक्वेन्सिङ गर्ने गरी मापदण्ड अनुसार हाल पिसिआर पोजेटिभ हुने नमूनाको जीन सिक्वेन्सिङ दुई चरणमा गरिन्छ। पहिलो, पिसीआर परीक्षण गरिन्छ। दोस्रो पिसीआरमा कोरोना पोजेटिभ र एस जीन नेगेटिभ आएको हुनुपर्दछ। जीन सिक्वेन्सिङमा चार वटा जीन परीक्षण गर्ने गरिएको छ।–थाहा खबर