समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौँ, २८ माघ
 राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी०ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ ।
एनटिएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा लिन प्रत्यक्ष रूपमा टोली खटाएको सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिनुभयो ।
“कोषको बर्दियास्थित कार्यालयबाट खटिएका उद्धार टोली कर्णाली र लुम्बिनी प्रदेशमा छन्”, उहाँले भन्नुभयो । उद्धार टोली बर्दियाको बारबर्दिया र गुलरिया क्षेत्र, सल्यानको कालिमाटी र दैलेखको भैरवी गाउँपालिकामा केन्द्रीत छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा टोलीले काम गरिरहेको उहाँले बताउनुभयो ।
कोषका प्राविधिकले २४ सै घण्टा समस्याग्रस्त वन्यजन्तुको निगरानी गरिरहेका छन् भने सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन ठाउँमा ‘बेट’ राखिएको छ । बर्दियामा चितुवा नियन्त्रणका लागि उद्धार खोर तयारी अवस्थामा राखिएको छ । दैलेखमा बँदेलको द्वन्द्व व्यवस्थापनका लागि  प्रयास भइरहेको सदस्य सचिव डा सुवेदीले बताउनुभयो ।
केही समययता सल्यानमा बाघ र दैलेखमा बँदेलको आक्रमणबाट मानवीय क्षति र घाइते भएका घटना सार्वजनिक भएपछि यो रेस्क्यु अपरेसन सुरु भएको हो । बारबर्दियामा चितुवाले पशुचौपाया र स्थानीयमाथि आक्रमण गरेको खबर आउन थालेपछि वन मन्त्रालय र निकुञ्ज प्रशासनसँगको समन्वयमा कोषको टोली खटिरहेको छ ।
दुई महिनायता मात्रै प्रविधिक टोलीले टीकापुर र बलापुरबाट दुईवटा चितुवाको उद्धार र एउटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्