माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ,२६ पुस।
शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।कोरोना सङ्क्रमण बढ्दै गएपछि आईतबार सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको थियो ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।
राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न भनेको छ ।यस्तै बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्