पीएम कपः एपीएफको विजय सुरूवात

काठमाडौं, २६ पुस

ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

सोमबार सुरू भएको प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित पाएको हो । 

प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाए । यस्तै, मोहम्मद आदिल अलामले ३५ रन बनाउँदा सुरज पटेलले १५ तथा विवेक यादवले १३ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

एपीएफका कमल सिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २-२ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफका लागि प्रदीप ऐरी र आशिफले १२० रनको साझेदारी गरेपछि एपीएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो । आशिफले ६३ रन र प्रदीपले ६० रन बनाए । सन्दीप जोराले १७ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

प्रदेश २ का रुपेश सिंहले सर्वाधिक चार विकेट लिँदा विवेक यादवले एक विकेट लिए । जितसँगै समूह बीमा एपीएफले महत्वपूर्ण दुई अंक जोडेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्