सहिद स्मारक लिग : पुलिस र बीबीसीले अंक बाँडे

काठमाडौं, २६ पुस 

नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ए डिभिजन लिगमा १-१ को बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौं चरणको अन्तिम खेलमा अंक बाँडेसँगै दुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन । 

खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर सत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले जाली चुमाएका थिए । तर ब्रिगेड ब्वाइजले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको दुई मिनेटपछि नै पुलिस खेलमा फर्कियो । रक्षक बुद्ध तामाङको फ्रिकक गोलमा पुलिस खेलमा फर्किएको थियो ।

पुलिस आठ खेलमा सात अंकसहित ११औं स्थानमा छ भने ब्रिगेड ब्वाइज क्लब समान खेलमा ६ अंक बटुल्दै १२औं स्थानमा छ । बाँकी समय दुवै टोलीले केही गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । 

१३औं मिनेटमा रुडी जोनाथन एमबाकोपको फ्रिकक बाहिरिँदा ब्रिगेड ब्वाइजले अग्रता दिने अवसर गुमायो । २५औं मिनेटमा निरकुमार राईको कर्नरमा सन्तोष हेमरनले गरेको हेडर गोलपोस्टभन्दा माथिबाट बाहिरदाँ पुलिसले अग्रता दिने अवसर खेर फाल्यो । त्यसको पाँच मिनेटपछि निरकुमारको प्रहार क्रसबारमा लागेर फर्कदा पुलिसले गोलको सनौलो अवसर गुमायो । 

५२औं मिनेटमा पुलिसका रवि पासवानले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ५५औं मिनेटमा ब्रिगेड ब्वाइजका विपिन बस्नेतले गरेको प्रहार बाहिरियो । ७६औं मिनेटमा रुडी जोनाथनको प्रहार क्रसबारमा लागेर फर्किँदा ब्रिगेड ब्वाइजले अग्रता लिने अवसर गुमायो ।

यो सँगै आठौं चरणको समाप्ति भएको छ । मछिन्द्र शीर्ष स्थानमा छ  । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्