विपद् प्रभावितलाई राहत दिन गृहमन्त्री खाणको निर्देशन

काठमाडौं ,२२ माघ ।

गृहमन्त्री बालकृष्ण खाणले मधेश प्रदेशमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा मधेशका प्रदेशका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो।

गृहमन्त्री खाणले शनिबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका १ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको मृत्यु भएको थियो। गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए।

गृहमन्त्री खाणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शितलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिएका छन्। त्यस्तै‚ उनले दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय, जुम्लाकी विजयाकुमारी प्रसाईँ, हुम्लाका गणेश आचार्य, गोरखाका शंकरहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, सोलुखुम्बुका गणेशबहादुर शाही, ओखलढुंगाका दिलकुमार तामाङ र खोटाङका फणिन्द्र दाहाललाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्। त्यस्तै‚ डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि टेलिफोनमार्फत जिल्लाको अवस्थाबारे जानकारी लिएका छन्।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्